धनगढी, १५ असोज / नेपाली कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनार १५औँ महाधिवेशन प्रतिनिधिमा अत्यधिक मतसहित निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न कैलाली निर्वाचन क्षेत्र नं ५ को मतगणनाअनुसार खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधिका लागि भएको प्रतिस्पर्धामा उहाँ ३६४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।
खुलातर्फ १० पदका लागि २४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा सुनारले दोस्रो बढी मत प्राप्त गर्नुभएको हो । उहाँले कुल खसेको मतको ५७ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।
यहाँ नरनारायण शाहले ४४२, केशव मिश्र ३५४, पूर्ण कुवर ३२९, हरिष खडका २८७, नारायण बराल २७५, गणेश देउवा २५५, प्रदिप पाठक २२७, श्याम बिष्ट २०९ र मोति कुवँर १८९ मत सहित विजयी हुनुभयो । यस क्षेत्रमा १२ गतेदेखि सुरु भएको निर्वाचन प्रक्रियाअन्तर्गत १३ गते मतदान भएको थियो । निर्वाचनमा ६३९ जना प्रतिनिधिले मतदान गरेका थिए ।
सुनारका लागि यो जित १४औँ महाधिवेशनपछि संगठनभित्रको अर्को महत्वपूर्ण उपलब्धि हो । १४औँ महाधिवेशनमा कैलाली जिल्ला कार्यसमितिको सचिवमा निर्वाचित हुँदा पनि उहाँले उल्लेख्य मतसहित ‘म्यान अफ द इलेक्सन’ को चर्चा पाउनुभएको थियो ।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि सुनारले क्षेत्र नं ५ सहित सिंगो कैलालीका नेता-कार्यकर्ताले आफूमाथि गरेको विश्वासलाई संगठन निर्माणमा उपयोग गर्ने बताउनुभएको छ । “कैलाली क्षेत्र नं ५ र सिंगो कैलालीका पार्टी नेता तथा कार्यकर्ताले ममाथि ठूलो भरोसा गर्नुभएको छ । १४औँ महाधिवेशन र यसपटक पनि त्यो भरोसा मतमार्फत जाहेर गर्नुभयो । यसबाट म उहाँहरूप्रति ऋणी छु । त्यो ऋण पार्टी संगठन निर्माण र पार्टीमा सबैको भूमिका सुरक्षित हुने वातावरण बनाएर तिर्नेछु”, उहाँले भन्नुभयो ।
विद्यार्थी राजनीतिबाट पार्टी संगठनसम्म
अछामको तत्कालीन सिद्धेश्वर गाविसको प्रभामा जन्मिनुभएका सुनारले विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गर्नुभएको हो । उहाँले २०५१ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्यता लिएर विद्यार्थी राजनीति सुरु गर्नुभएको थियो । त्यसको एक वर्षपछि प्रभा धम्कोट माध्यमिक विद्यालयको नेविसंघ इकाइ समितिको सचिव र २०५४ सालमा अध्यक्ष बन्नुभयो ।
कैलाली आएपछि उहाँको राजनीतिक सक्रियता थप विस्तार भयो । विसं २०५७ देखि २०५८ सम्म कैलाली बहुमुखी क्याम्पस इकाइ उपाध्यक्ष तथा नेविसंघ कैलाली जिल्ला सहसचिव, २०५९ देखि २०६१ सम्म नेविसंघ कैलालीको अध्यक्ष र २०६२ देखि २०६४ सम्म नेविसंघ केन्द्रीय सदस्यका रूपमा उहाँले जिम्मेवारी सम्हाल्नुभयो ।
यसैगरी २०६५ देखि २०६७ सम्म नेपाली कांग्रेस क्षेत्र नं ४ को सहसचिव तथा २०६८ देखि २०७३ सम्म नेपाल तरुण दलको केन्द्रीय सदस्यका रूपमा काम गर्नुभयो । पार्टी राजनीतिमा भने उहाँले २०५७ सालमा कांग्रेसको क्रियाशील सदस्यता लिएसँगै औपचारिक रूपमा प्रवेश गर्नुभएको हो ।
विसं २०७२ मा कांग्रेस कैलाली जिल्ला कार्यसमिति सदस्य निर्वाचित भएपछि उहाँले जिल्ला संगठनमा थप जिम्मेवारी पाउनुभयो । २०७३ देखि २०७८ सम्म कार्यक्रम समन्वय तथा प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका सुनारले जिल्लाका विभिन्न क्षेत्रमा प्रशिक्षण र संगठनात्मक गतिविधि सञ्चालन गर्नुभएको थियो ।
विसं २०७८ मा सम्पन्न कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन तयारी समितिको सदस्यसचिव तथा प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएका उहाँ त्यसै वर्षको कैलाली जिल्ला अधिवेशनबाट सचिव निर्वाचित हुनुभयो ।
आन्दोलन, गिरफ्तारी र जेल
सुनारको राजनीतिक यात्रामा आन्दोलन र संघर्षको अध्याय पनि जोडिएको छ । २०५८ सालदेखि सुरु भएको प्रतिगमनविरुद्धको आन्दोलनका क्रममा उहाँ दुईपटक २४ घण्टे रिले अनशनमा सहभागी हुनुभयो । विसं २०६२/६३ सालेको ऐतिहासिक दोस्रो जनआन्दोलनको पृष्ठभूमिमा भएको आन्दोलनका क्रममा पक्राउ परेका सुनारले कैलाली जिल्ला कारागारमा ९१ दिन राजनीतिक बन्दीका रूपमा जेल जीवन बिताउनुभयो ।
तत्कालीन राजाले घोषणा गरेको नगर निर्वाचन बहिष्कारको आह्वान गर्दै भित्तेलेखन गरिरहेका बेला पनि उहाँ पक्राउ पर्नुभयो । करिब पाँच घण्टापछि रिहा हुनुभयो । उहाँले आन्दोलनका क्रममा उहाँले पटक–पटक हिरासत र यातना भोग्नुभएको थियो ।
प्रशिक्षण र संगठन विस्तार
कांग्रेस कैलालीको प्रशिक्षण तथा कार्यक्रम समन्वयको जिम्मेवारीमा रहँदा सुनारले जिल्लाका विभिन्न क्षेत्रमा संगठनात्मक गतिविधि सञ्चालन गर्नुभएको थियो । उहाँका अनुसार प्रशिक्षण विभाग प्रमुखका रूपमा कैलालीका १२६ वटै वडामा प्रशिक्षण गतिविधि सञ्चालनदेखि जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम आयोजनासम्म उहाँको भूमिका रह्यो ।
जिल्ला सचिवका रूपमा पनि उहाँले प्रशिक्षण, संगठन विस्तार र कार्यकर्ताबीचको समन्वयलाई प्राथमिकतामा राखेको बताउँदै आउनुभएको छ । विसं २०७८ को जिल्ला अधिवेशनअघि उहाँले आफूलाई सचिवको स्वाभाविक उम्मेदवारका रूपमा प्रस्तुत गर्दै संगठनलाई निर्वाचनमुखी मात्र नभई स्थानीय मुद्दा र जनतासँग जोड्ने विषयलाई प्राथमिकता दिने बताउनुभएको थियो ।
संगठनसँगै नीति निर्माणको अनुभव
लामो समय पार्टी संगठनमा सक्रिय सुनारले प्रदेश नीति तथा योजना आयोगमा रहेर विकास नीति तथा योजना निर्माणको अनुभवसमेत हासिल गर्नुभएको छ । प्रदेश सरकारले २०८१ फागुनमा उहाँलाई आयोगको सदस्यमा नियुक्त गरेको थियो ।
उहाँले सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनको कार्यकारी समिति सदस्यका रूपमा समेत काम गर्नुभएको छ । तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्रीका सल्लाहकारका रूपमा काम गर्नुभएका सुनारले पार्टी संगठनसँगै प्रदेशको विकास नीति, योजना निर्माण र लगानी प्रवद्र्धनका विषयमा पनि अनुभव हासिल गर्नुभएको छ ।
व्यवस्थापन विषयमा स्नातकोत्तर तहसम्म अध्ययन गर्नुभएका सुनारले संगठन विस्तारका क्रममा नेपालका ६२ जिल्ला सदरमुकाम तथा विभिन्न ग्रामीण क्षेत्रमा भ्रमण गर्नुभएको छ । उहाँले नेपाल तरुण दलको तर्फबाट युवा अनुभव आदानप्रदान कार्यक्रमअन्तर्गत चीन र भारतको भ्रमण गर्नुभएको छ । सन् २००६ मा बंगलादेशमा भएको विश्व सामाजिक मञ्च तथा सन् २०१४ मा भारतमा भएको कार्यक्रममा पनि उहाँ सहभागी हुनुभयो ।
अब नेतृत्वका लागि तयार
सुनार प्रदेश राजधानीसमेत रहेको कैलाली र विशेष गरी खुला प्रतिस्पर्धाबाट कांग्रेसमा स्थापित हुँदै जानुभएको छ । यसपटकको निर्वाचन परिणामले उहाँको राजनीतिक यात्रालाई थप बलियो बनाएको छ । महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि सुनारले तत्काल केन्द्रीय समितिमा जानेभन्दा कैलाली कांग्रेसको संगठन र जिल्ला नेतृत्वलाई प्राथमिकता दिने बताउनुभएको छ । “अब मेरो प्राथमिकता केन्द्रीय समितिभन्दा पनि कैलालीका आमनेता, कार्यकर्ता तथा शुभेच्छुकको मत र भावनाअनुसार जिल्ला सभापतिका लागि प्रयास गर्ने हो । मैले आफूलाई त्यहीअनुसार तयार गरेको छु”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार विभिन्न चरणमा जिल्ला सभापतिका लागि रायसुझाव लिने काम गरिएको र त्यसक्रममा धेरै नेता तथा कार्यकर्ताले सभापतिका रूपमा अगाडि बढ्न सुझाव दिएका छन् । “यसपटक जिल्लाभरका कांग्रेसीहरूको मतको नेतृत्व गर्ने र त्यसपछि यहाँका जनताको आशीर्वाद लिने गरी आफूलाई तयार गर्ने सोच छ । त्यसका लागि तयार छु भनेर चौधौँ महाधिवेशनमा आफूलाई प्रस्तुत गरेको थिएँ, यसपटक पनि त्यसैको निरन्तरता हो”, उहाँले भन्नुभयो, “अब जिल्ला सभापतिका लागि म तयार भएँ, त्यसमा सबैको सहयोग रहने विश्वास छ ।”
विद्यार्थी राजनीतिबाट सुरु भएको यात्रा, पार्टीको क्रियाशील सदस्यता, आन्दोलनका क्रममा जेल तथा हिरासत, नेविसंघ र तरुण दलका जिम्मेवारी, कांग्रेस कैलालीको प्रशिक्षण तथा संगठनात्मक भूमिका र प्रदेश नीति तथा योजना आयोगको सदस्यसम्मको अनुभवले सुनारको राजनीतिक यात्रालाई थप विस्तार गर्दै लगेको छ । महाधिवेशन प्रतिनिधिका रूपमा प्राप्त पछिल्लो जिम्मेवारीसँगै उहाँले अब कैलाली कांग्रेसको जिल्ला नेतृत्वका लागि आफूलाई अघि सार्नुभएको छ । त्यसको परिणाम भने आगामी जिल्ला अधिवेशनले निर्धारण गर्नेछ ।