कञ्चनपुर, ११ असोज / भारत स्थित घौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको छ । यसअघि असोज ११ गते राती १२ बजे देखि असोज १२ गते बिहान १० बजे सम्म बाँध खोलिने सूचना जारी गरिएपछि निरन्तरको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव उच्च भएपछि सो कार्यक्रम स्थगित गरिएको हो ।
यसअघि भारतको धौलीगंगा बाँधबाट पानी छोडेर सिल्ट सफा गर्ने सूचना महाकाली नदी किनार सँग जोडिएका नेपालका जिल्ला प्रशासन कार्यालयहरुलाई पठाएको थियो । तर, पछिल्लो समय भइरहेको निरन्तर वर्षा र महाकाली नदीको बढ्दो जल स्तरलाई मध्यनजर गर्दै उक्त कार्यक्रम स्थगित गरिएको हो ।
धारचुलाका उपजिलाधिकारी आशीष जोशीले धौलीगंगा पावर स्टेशनलाई पत्र पठाउँदै हालको प्रतिकूल मौसम र महाकालीको उच्च जल स्तरका कारण पानी छोड्दा नदीको सतह खतरा तहभन्दा माथि जान सक्ने जोखिम रहेको जनाएका छन् । त्यसैले प्रस्तावित मितिमा सिल्ट सफाइको काम नगरी अन्य मिति तय गर्न आग्रह गरिएको छ ।
धारचुलामा शनिबार साँझ महाकाली नदीको जल स्तर खतरा तहभन्दा करिब १ दशमलव ४० मिटर मात्रै तल रहेको बेला यस्तो निर्णय लिनु परेको जनाइएको छ ।
धौलीगंगा बाँधबाट पानी छोडेर सिल्ट सफा गर्दा तटीय क्षेत्रमा ठूलो क्षति हुनसक्ने भएकोले पूर्वनिर्धारित कार्यक्रम तत्कालका लागि स्थगित गरिएको भारतीय पक्षले जनाएको छ । भारतीय धौलीगंगा पावर स्टेशनले तत्काल बाँध नखोल्ने र खोल्नु अगावै अर्को सूचना जारी गर्ने दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले बताए ।