दार्चुला,३१ भदौ / सदरमुकाम खलङ्गाबाट उत्तरको हिमाल लिम्पियाधुराको मुहानबाट बग्ने महाकाली नदी, दक्षिणको हिमाल अपिहिमालको मुहानबाट बग्ने चमेलिया नदी र विभिन्न नौ वटा खोला मिसिएर बग्ने नौगाड खोलामा पानीको बहाब र जलस्तर निरन्तर रूपमा मापन भइरहेको छ ।
हिम नदीमा आउन सक्ने बाढी र बढ्न सक्ने पानीको बहाबलाई ध्यानमा राख्दै नदीको निरन्तर रूपमा निगरानी तथा जलस्तरमापन गर्ने कार्य गरिरहेको महाकाली नदीस्थित दत्तुमा स्थापना गरिएको जलमापन केन्द्रका कृष्णसिंह नगारीले जानकारी दिएका छन् ।
जल तथा मौसम विज्ञान विभागले महाकाली बेसिन अन्तर्गत महाकाली नगरपालिका–९ दत्तुस्थित नेपाल–भारत पुलनजिक, चमेलिया नदीको कर्कले र नौगाडखोलामा जलमापन केन्द्र स्थापना गरेको छ । मनसुनको समयमा आउने बाढीको पूर्वानुमान र नदी तटीय क्षेत्रका नागरिकलाई पूर्वसूचना प्रदान गर्न जलमापन केन्द्र स्थापना गरिएको उनले बताए ।
जलमापन केन्द्रमार्फत दिनमा तीन पटक नदीमा जलस्तरको मापन गर्ने गरेको उनले बताए । बिहान, दिउँसो र बेलका नदीको जलस्तरमापन गरेर जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा रिपोर्टिङ गर्ने गरेको उनको भनाइ छ ।
यहाँको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा एक जना सशस्त्र प्रहरी र एक जना नेपाल प्रहरीले चौबिसै घण्टा नदीमा पानीको सतह बढेकाबारे तल्लो तटीय क्षेत्रका नागरिकलाई जानकारी दिने गरेका छन् ।
दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर हुँदै भारततर्फ बग्ने महाकाली नदीमा बाढी आउनुपूर्व अपनाउनुपर्ने सुरक्षा सतर्कता र तल्लो तटीय क्षेत्रका नागरिकलाई पूर्वसूचना आदानप्रदान गर्न जलमापन केन्द्रले सहज भएको उनले जानकारी दिए ।
नेपाल र भारतको सीमा भएर बग्ने महाकाली बेसिन क्षेत्रस्थित दुवै देशका नागरिक बाढी पूर्वसूचना प्रणालीका लागि निर्माण गरिएको ह्वाट्सएप ग्रुपमा समेत आबद्ध रहेको सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाद्वारा सञ्चालित ट्रोसा कार्यक्रमका परियोजना संयोजक मानसिंह कार्कीले जानकारी दिए ।
मनसुनजन्य बर्सातका बेला विपतजन्य घटना घट्न सक्ने सम्भावना कायमै रहेकाले जिल्लास्थित स्थानीय तहले गठन गरेका स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई सक्रिय बनाएर घटना न्यूनीकरण गर्ने विषयमा सहमति भएको दार्चुला प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिएका छन्
। सम्भावित विपत्जन्य घटनाको पूर्वसूचना स्थानीयस्तरबाट जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा उपलब्ध गराउनेसमेत निर्णय गरिएको उनले बताए ।