धनगढी, २९ भदौ / राष्ट्रिय बाल दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशस्तरीय बाल सञ्जालका पदाधिकारीहरूले आफ्नो दैनिक खाजाको रकम बचत गरी बाढी प्रभावित बालबालिकाका लागि आर्थिक सहयोग गरेका छन्।
सञ्जालका पदाधिकारीहरूले रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ५ हजार रुपैयाँ सहयोग गरेका हुन्।
बालबालिकाहरूले मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै संकलन गरेको उक्त रकम बाल अधिकार र सशक्तीकरणका लागि सामूहिक पहल (सुदूरपश्चिम) का संयोजक हेमराज जोशीमार्फत सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
सुदूरपश्चिम प्रदेशस्तरीय बाल सञ्जालले राष्ट्रिय बाल दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नराखी विपद्बाट प्रभावित बालबालिकाप्रति ऐक्यबद्धता जनाउने अवसरका रूपमा लिएको जनाएको छ। बाढीबाट प्रभावित परिवार तथा बालबालिकाको राहत, उद्धार र पुनःस्थापनामा सानो भए पनि सहयोग पुग्ने विश्वासका साथ रकम संकलन गरिएको सञ्जालले जनाएको छ।
सञ्जालका सदस्य लोचन कुँवरले सुदूरपश्चिमका बालबालिकाबाट गरिएको सहयोगले बाढीपीडित क्षेत्रका बालबालिकालाई केही राहत पुग्ने आशा व्यक्त गरे। उनले विपद्को समयमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने भावना विकास गर्नुपर्ने बताए।
बालबालिकाको सानो प्रयासले पनि समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै विपद्का समयमा मानवीय सहयोग, सहकार्य र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
आज बालपनको रक्षा : भविष्यको सुरक्षा भन्ने नारा सहित ६२ औँ राष्ट्रिय बाल दिवस मनाइदैछ।