दार्चुला,२७ भदौ / दार्चुलामा निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामा पूर्वसूचना प्रणाली स्थापना गरिने भएको छ ।
यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले जलविद्युत् पूर्वाधारलगायत जनधनको अकल्पनीय क्षति पु¥याएको घटनाबाट पाठ सिक्दै यहाँका जलविद्युत् आयोजनाको सुरक्षामा विशेष सतर्कता अपनाउन लागिएको हो ।
हिमनदीमा अचानक बहाब बढेमा, पहिरोका कारणले जलविद्युत् आयोजनाको ड्याममा ढुङ्गा, माटो, बालुवा, गेग्य्रानलगायतका वस्तु थुप्रिएमा सुरक्षा चुनौती बढ्न सक्ने विश्लेषण गर्दै सम्भावित क्षतिको न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली स्थापना गर्ने निर्णय गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिए ।
जिल्लास्थित सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनीसँग परियोजनाको प्रकृति, डिजाइन, आपत्कालीन सुरक्षित निकासमार्गमा हुने जोखिमको अवस्था र न्यूनीकरणका उपायबारे समीक्षा गरिएको तथा आयोजनामा विपत् पूर्वसूचना प्रणाली स्थापना गर्ने निर्णय गरिएको उनले स्पष्ट पारे ।
आयोजनाको सुरक्षासँगै आपत्कालीन प्रतिकार्य योजना अन्तर्गत बाढी, नदीको बहाब वृद्धि पहिचान, विद्युतगृहका कर्मचारी सुरक्षित स्थानमा जाने, बाँधका कर्मचारी सुरक्षित उचाइतर्फ जाने र कर्मचारीको गणना निरन्तर रूपमा गर्ने सन्दर्भमा समेत छलफल गरिएको प्रजिअ पौडेलले जानकारी दिए । यहाँ सञ्चालनमा रहेका साना तथा ठुला जलविद्युत् आयोजनाले आआफ्नो आयोजना स्थलको जोखिम अवस्थाको पहिचान गर्ने र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने पूर्वतयारीको आवश्यक प्रबन्ध गर्ने कुराको पनि तयारी गरिएको उनको भनाइ छ ।
बाढीपहिरो तथा भूकम्पजन्य घटनाका कारण आयोजना स्थल र ड्याममा क्षति भई नदी तटीय क्षेत्रनजिक रहेका बस्तीमा मानवीय तथा जनधनको क्षति हुन सक्ने भएकाले आयोजनामा काम गर्ने कर्मचारीको सुरक्षा र तटीय क्षेत्रका नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने निर्णय गरिएको छ ।