घोडाघोडी,२६ भदौ / कैलालीको बर्दगोरिया गाउँपालिकाले शुद्ध खानेपानी सेवा निःशुल्क गर्ने भएको छ । गाउँपालिकाले वडा नम्बर ३ मा निर्माण पूरा गरेको रानीकुण्डा खानेपानी आयोजना उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले आयोजनाबाट सेवा लिने उपभोक्तालाई एक वर्षसम्म खानेपानी निःशुल्क उपलब्ध गराइने घोषणा गरेका हुन् ।
अध्यक्ष कुँवरले एक वर्षपछि पनि उपभोक्तालाई निश्चित युनिटसम्म खानेपानी महसुलमा छुट दिने विषयमा सङ्घीय तथा प्रदेश सरकार र विश्व बैङ्कसँग समन्वय तथा छलफल भइरहेको बताए । त्यसपछि पनि जनतालाई कति छुट दिन सकिन्छ भन्ने विषयमा सङ्घीय, प्रदेश र स्थानीय सरकार तथा विश्व बैङ्कसँग समन्वय र छलफल गरिरहेको अध्यक्ष कुँवरले बताए ।
अन्यत्र जस्तो खानेपानीको धारा जडान गर्न ठुलो रकम तिर्नुपर्ने र मासिक रूपमा महँगो महसुल बुझाउनुपर्ने बाध्यता आफ्नो पालिकामा नरहेको उनले बताए ।
गाउँपालिकाले निःशुल्क शिक्षा, घरआँगनमै स्तरीय स्वास्थ्यसेवा, कलेज सञ्चालन, शव चिस्यान सेवा, काजकिरिया खर्च व्यवस्थापन तथा पोस्टमार्टम सेवा सञ्चालन गरिरहेको छ । रानीकुण्डा खानेपानी आयोजनाका अध्यक्ष टङ्क ओलीले निर्वाचनका बेला गरिएका प्रतिबद्धता व्यवहारमा कार्यान्वयन भएको देख्दा आफूहरू उत्साहित भएको बताए ।