बाजुरा, २६ भदौ / बाजुराको हिमाली गाउँपालिका–२ मा रहेको बुढीनन्दा आधारभूत विद्यालय नातिखोलाका शिक्षक तथा बालबालिका कक्षाकोठाबाहिर पठनपाठन गर्दै आएका छन् ।
साउन २८ गतेको अविरल वर्षाका कारण बिछ्याखोलामा आएको बाढीले ठुलो क्षति भएको थियो । कक्षाकोठामा बसेको बेला बाढी आउँछ कि भन्ने डरले यहाँका बालबालिका विद्यालयको कक्षाकोठाभन्दा बाहिर बसेर पठनपाठन गर्न थालेका हुन् ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि अहिले यहाँका बालबालिका तथा कर्मचारी सबै त्रसित बनेको विद्यालयका प्रधानाध्यापक अजमति विष्टले बताए । विद्यालय पनि खोलाको नजिक भएको हुनाले बाढी आइहाले भाग्न सहज होस् भनेर बाहिरै पठनपाठन गर्ने गरेको उनले बताए ।
कक्षा १ देखि ३ सम्मको पढाइ हुने उक्त विद्यालयमा २८ जना बालबालिका अध्यनरत छन् । एक स्थायी, एक राहत, एक बालविकास र एक जना कार्यालय सहयोगी गरी चार जना कर्मचारी रहेको प्रधानाध्यापक विष्टले बताए ।
विद्यालयको अवस्था नाजुक छ त्यहाँबाट सुरक्षित स्थानमा सार्न जरुरी छ त्यसका लागि ठुलो रकम आवश्यक पर्ने हिमाली गाउँपालिकाका शिक्षा शाखा संयोजक पराम पाण्डेले बताए ।
हिमाली गाउँपालिकामा करिब २२ वटा विद्यालय सञ्चालनमा छन् तीमध्ये अधिकांश विद्यालयको अवस्था उस्तै रहेको पाण्डेको भनाइ छ ।