धनगढी, २४ भदौ / निर्माण भएको लामो समयसम्म अलपत्र धनगढीस्थित सभागृह निजी क्षेत्रको रुक्मणी टेन्ट एण्ड सप्लायर्सले सञ्चालन गर्ने भएको छ । धनगढीमा ठूला कार्यक्रम आयोजना गर्ने उद्देश्यले आधुनिक शैलीमा निर्माण गरिएको सभागृह टेन्डर मार्फत रुक्मणी टेन्टले सञ्चालन गर्ने जिम्मा पाएको हो । जसका लागि रुक्मणी टेन्ट सँग मासिक एक लाख ५२ हजार १११ रुपैयाँमामा ठेक्का सम्झौता भएको छ ।
दुई चरणमा निर्माण भएको सभागृह निर्माणका लागि सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाइ, धनगढीले ३३ करोड ८० लाख रुपैयाँ खर्च गरेको थियो । सभागृहमा ठूलो सभा हल, सेमिनार कक्ष र भूमिगत पार्किङको व्यवस्था छ । निर्माण सम्पन्न भएपछि २०८२ जेठ ११ गते सभागृह उपमहानगरले जिम्मा लिएको थियो ।
त्यसयता उपमहानगरले पटक–पटक प्रयास गर्दा पनि सञ्चालनमा आउन सकेको थिएन । उपमहानगरका उपप्रमुख कन्द्कला कुमारी रानाले सभागृह सञ्चालनका लागि उपमहानगरले पटक–पटक सूचना प्रकाशित गरेको थियो ।
प्रस्ताव नपरेपछि पाँचौँ पटक रकम घटाएर १ लाख २५ हजार रुपैयाँ कायम गरिएको थियो । पाँचौँ पटकको सूचनापछि सभागृह सञ्चालनको ठेक्का मासिक एक लाख ५२ हजार १११ रुपैयाँमा परेको छ । अब प्रक्रिया पूरा भइसकेकाले सभागृह छिटै सञ्चालनमा आउने धनगढी उपमहानगरले जनाएको छ ।