धनगढी,२४ भदौ / कैलाली बहुमुखी क्याम्पसका विज्ञान संकायका विद्यार्थीले वनस्पतिजन्य कच्चा पदार्थ प्रयोग गरी हर्बल साबुन र मैनबत्ती उत्पादन गरेका छन् । क्याम्पसको विज्ञान प्रयोगशालामा विभिन्न वनस्पतिबाट आवश्यक कच्चा पदार्थ तयार गरी त्यसको प्रशोधनमार्फत साबुन तथा मैनबत्ती उत्पादन गरिएको हो ।
क्याम्पसले विद्यार्थीलाई प्रयोगशालामा सैद्धान्तिक ज्ञान र प्रयोगात्मक अभ्यासमा सीमित नराखी त्यसलाई उत्पादन र उद्यमशीलतासँग जोड्ने उद्देश्यले यस्तो अभ्यास सुरु गरेको जनाएको छ । उत्पादन प्रक्रियामा प्राध्यापकहरूको मार्गनिर्देशन तथा चौथो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूको प्रत्यक्ष सहभागिता रहेको छ ।
विज्ञान संकायकी विभागीय प्रमुख उपप्राध्यापक डा. रमादेवी जोशीका अनुसार साबुन तथा मैनबत्ती उत्पादनका लागि स्थानीय तथा वनस्पतिजन्य स्रोतबाट कच्चा पदार्थ तयार गरिएको हो । क्याम्पसकै प्रयोगशालामा विभिन्न वनस्पतिबाट आवश्यक पदार्थ प्रशोधन गर्नुका साथै मेन्थाको तेलसमेत उत्पादन गरी साबुनमा प्रयोग गरिएको उनले बताए।
विद्यार्थीले उत्पादन गरेको साबुनको नाम ‘आभा’ राखिएको छ । साबुनमा नीम, एलोबेरा, लेमनग्रास, मुलतानी मिट्टी, भिटामिन ए, सी, ई र के, रिठ्ठा, सोप बेस तथा सुगन्धका लागि प्रयोगशालामै तयार गरिएको मेन्थाको तेल प्रयोग गरिएको डा. जोशीले जानकारी दिए ।