बाजुरा, २४ भदौ / बाजुराका किसानलाई धान काट्ने चटारो परेको छ । बाजुरामा वर्षमा दुई पटक धान खेती गरिन्छ । पहिलोपटक चैत–वैशाखमा र दोस्रोपटक असारमा धान रोप्ने गरिन्छ ।
यतिबेला चैत–वैशाखमा पाखो जमिनमा लगाइएको धान पाकेर पहेँलिएका छन् । दिनानुदिन पानी परिरहेकाले पाकेको धान भित्र्याउन किसानलाई समस्या परेको छ । धानसँगै परालसमेत सुरक्षित राख्नुपर्ने भएकाले उनीहरू चिन्तित बनेका छन् ।
चैत–वैशाखमा पाखो जमिनमा लगाएको धान पाकेर झर्न थालेपछि उनीहरू धान काट्न व्यस्त हुने गरेका छन्।
बाजुरामा कुल दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्र खेतीयोग्य रहेको छ । बाजुरामाँ ६ हजार ९१५ हेक्टर जमिनमा धान खेती गरिन्छ। कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी प्रेमराज न्यौपानेका अनुसार धानको उत्पादकत्व १.९ मेट्रिक टन प्रतिहेक्टर रहेको छ।