दार्चुला, २२ भदौ / दार्चुलाको अपिहिमाल गाउँपालिका–१, भट्टाड बस्तीमा गत शुक्रबार गएको ठुलो पहिरोबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउन तथा बस्ती पुनस्र्थापना सुदूरपश्चिम प्रदेश सरकारसँग त्यहाँका स्थानीयले माग गरेका छन् ।
शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई स्थानीयको मागसहितको ज्ञापनपत्र बुझाएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तिसिंह ठेकरे बोहराले जानकारी दिए । केही दिनपछि जिल्ला प्रशासन कार्यलयमार्फत सङ्घीय सरकारलाई समेत बस्ती पुनस्र्थापनाका लागि मागसहितको ज्ञापनपत्र बुझाउने योजना रहेको उनले बताए ।
उनले ज्ञापनपत्रमा पहिरोबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित परिवारको पुनस्र्थापना तथा सुरक्षित बसोबासको व्यवस्था गर्न आग्रह गरिएको बताए । पहिरोका कारण क्षतिग्रस्त पदमार्गलगायत स्थानीय संरचनाको पुनर्निर्माण गर्नुपर्ने तथा भविष्यमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक योजना र कार्यक्रम सञ्चालन गर्न पनि प्रदेश सरकारको ध्यानाकर्षण गराइएको अध्यक्ष बोहराले बताए । गाउँपालिका अध्यक्ष बोहराका अनुसार मुख्यमन्त्री भट्टले प्रभावित परिवारको राहत तथा पुनस्र्थापनाका विषयमा प्रदेश सरकारले गर्न सक्ने आवश्यक सहयोग तत्काल अघि बढाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । पहिरोका कारण भट्टाड बस्तीका स्थानीय प्रभावित हुनुका साथै पदमार्ग तथा अन्य संरचनामा पनि क्षति पुगेको छ ।
जोखिमयुक्त क्षेत्रमा थप क्षति हुन नदिन तत्काल राहतसँगै दीर्घकालीन पुनस्र्थापनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको अध्यक्ष बोहराको भनाइ छ । गाउँपालिकाले प्रभावित परिवारको टेन्टलगायत सामग्री वितरण गरेको उनले बताए । भट्टाड क्षेत्रमा शुक्रबार बेलुकी पहाडबाट खसेको ठुलो पहिरोका कारण चमेलिया नदी आंशिक रूपमा थुनिएको थियो भने भट्टाड बस्ती पहिरोको उच्च जोखिममा रहेको छ ।