धनगढी, २२ भदौ / सामुदायिक विद्यालयमा सकारात्मक परिवर्तन र शैक्षिक गुणस्तर सुधारमा उत्कृष्ट योगदान पु¥याउने बैतडीको पञ्चेश्वरस्थित नागार्जुन आधारभूत विद्यालय प्रतिष्ठित राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ।
सुदूरपश्चिम प्रदेशको दुर्गम क्षेत्रमा शैक्षिक क्रान्ति ल्याउने पञ्चेश्वर गाउँपालिका–१, पालडीस्थित नागार्जुन आधारभूत विद्यालयलाई पूर्वराष्ट्रपति डा. रामवरण यादवको समुपस्थितिमा शनिबार काठमाडौँमा ‘प्रजापति (पीपी) प्रसाईँ प्रोत्साहन पुरस्कार’बाट सम्मान गरिएको हो।
विद्यालयले सम्मानपत्रसँगै नगद एक लाख रुपियाँ पुरस्कारसमेत प्राप्त गरेको छ।
बाल विकासदेखि कक्षा ५ सम्म पठनपाठन हुने यस विद्यालयमा हाल १६४ जना विद्यार्थी अध्ययनरत छन्।
विद्यालयले यसै वर्ष विद्युत् जडान गरी आईसीटी प्रविधिबाट शिक्षण–सिकाइ सुरु गर्ने तयारी गरेको छ। साथै, आगामी शैक्षिक सत्र २०८४ देखि कक्षा ६ देखि ८ सम्म सञ्चालनको अनुमति लिने तयारीसमेत भइरहेको छ।