धनगढी, १९ भदाै/ रसुवास्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका सुदूरपश्चिम प्रदेशका नागरिकहरूको खोजी कार्य जारी रहेको छ। बाढी प्रभावित क्षेत्रमा कामका सिलसिलामा पुगेका यस प्रदेशका विभिन्न जिल्लाका नागरिकहरू अझै पूर्ण रूपमा सम्पर्कमा आउन सकेका छैनन्। प्रदेश प्रहरी कार्यालयका अनुसार, नौ वटै जिल्लाबाट रसुवा र नुवाकोट क्षेत्रमा रहेका कुल २०९ जना बाढीपछि सम्पर्कविहीनको सूचीमा थिए। तीमध्ये हालसम्म ५९ जना परिवार तथा आफन्तको सम्पर्कमा आई सकुशल फर्किसकेका छन् भने १५० जना अझै पनि सम्पर्कबाहिर रहेका छन्।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टका अनुसार सबैभन्दा बढी कैलालीका ६४ र कञ्चनपुरका ३६ जना नागरिकहरू प्रभावित भएका छन्। यसबाहेक डडेल्धुराका १६, बाजुराका १६, बैतडीका ८, दार्चुलाका ४ तथा डोटी, बझाङ र अछामका २–२ जना नागरिकहरू पनि अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा सञ्चार र यातायात अवरुद्ध भए पनि सुरक्षा निकायले बेपत्ताहरूको खोजी तथा तथ्याङ्क अद्यावधिक गर्ने कामलाई निरन्तरता दिएको छ भने आफन्तहरूले आफ्ना परिवारका सदस्यको यथाशीघ्र खोजी र अवस्था सार्वजनिक गर्न माग गरेका छन्।