बाजुरा, १८ भदौ / बाजुरा जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दाका किसानलाई स्याउ टिप्ने चटारो परेको छ । साउनको पहिलो सातादेखि स्याउ पाक्न सुरु भए पनि राम्रोसँग भदौको दोस्रो साता सम्ममा मात्र पाक्ने गरेको छ ।
बारीमा पाकेको स्याउ झरेर खेरजान्छ की भन्ने डरले छिटो बिक्री गर्न त्यहाँका किसानलाई स्याउ टिप्ने चटारो परेको हो । बाजुरामा गत वर्षको भन्दा यो वर्ष स्याउ राम्रो फलेको छ । यो वर्ष स्याउ राम्रो फलेपछि यतिबेला त्यहाँका किसान आम्दानी बढी हुने आशामा छन् ।
त्यहाँको स्याउ देशका विभिन बजारमा पुग्ने गरेको भन्दै अहिले स्थानीयले अन्नबाली लगाउने जमिनमा समेत स्याउ खेती गर्न थालेका छन्। अर्गानिक स्याउ भएकाले शहरबाट पनि व्यापारीहरु स्याउ खरिद गर्न बारीमा जाने गरेका छन् ।
गत वर्ष बारीमा प्रतिकिलो ३० रुपियाँका दरले स्याउ बिक्री गरेका थियौं । अहिले ५० रुपियाँका दरले बिक्री गर्नेुपर्ने देखिन्छ । त्यो दरमा व्यापारीले दिएन भने स्याउ आफै बजारमा लगेर बिक्री गर्ने योजना बनाएको स्वामिकार्तिक खापर गाउँपालिका–१ रुडिका जनक बुढाले बताए ।
बाजुरामा करिब १७० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिन्छ । अबका केही दिनपछि त्यहाँ १८० हेक्टरभन्दा बढी जमिनमा स्याउ खेती हुने सम्भावना रहेको छ । पहिलेभन्दा अहिले स्थानीयले स्याउ खेती बढी गर्ने गरेका छन् । गत वर्ष जिल्लामा दुई हजार मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको थियो । अघिल्लो वर्षमा त्यहाँदेखि करिब ६ सय मेट्रिक टन स्याउ जिल्ला बाहिर बिक्री गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरिशबहादुर विष्टले बताए ।
अहिले झण्डै सातसय मेट्रिक टन भन्दाबढी स्याउ बाहिर जाने सम्भावना देखिएको छ, बाजुराको हावापानी र माटो स्याउ खेतीका लागि उपयुक्त भएकाले पछिल्लो समय स्याउ उत्पादनको सम्भावना उच्च रहेको विष्टले बताए ।
स्याउ खेतीबाट किसानको आयआर्जन बढ्ने देखिएकाले कृषि ज्ञान केन्द्रले स्थानीय तहसँग समन्वय गरी नयाँ बिरुवा वितरण, प्राविधिक सहयोग तथा बजारीकरणका लागि अनुदानको व्यवस्था गर्दै आएको विष्टले बताए ।