धनगढी, १७ भदौ / कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा अध्ययनरत् विद्यार्थीले खाजा खान ल्याएको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् ।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले जनधनसँगै विद्यालय क्षेत्रलाई समेत गम्भीर क्षति पुर्याएको समाचारले घोडाघोडीका विद्यार्थीहरूले खाजा बाफतको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् ।
घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश बिनाडीका अनुसार विद्यार्थीहरूले स्वतःस्फूर्त रूपमा खाजाका लागि ल्याएको एकदिनको खाजा खर्च रकम रू ३२ हजार २२५ रुपैयाँ संकलन गरेर प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको बताए।
क्याम्पसका स्वतन्त्र विद्यार्थी यूनियनका सभापति अशोक गौतमले जति विद्यार्थीले खाजाका लागि पैसा ल्याएका थिए उनीहरुले सहयोग गरेको बताए । “धेरैले थाहा पाएनौ भोली हामीले खाने खाजा खर्च राहत कोषमा जम्मा गर्छौ भनेका छन् ” गौतमले भने, आज नल्याएकाले भोली जम्मा गरेपछि एकमुष्ट प्रधानमन्त्री राहत कोषमा जम्मा गर्छौ ।