बैतडी, १० भदौ / बैतडीको सुर्नया गाउँपालिका–२ लिस्किटामा गौरापर्वको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
सुर्नया युनाइटेड क्लबको आयोजनामा आगामी भदौ १४ गते श्री वासुदेव माध्यमिक विद्यालयको प्राङ्गणमा क्लबको उद्घाटन समारोहसँगै गौरापर्व विशेष सांस्कृतिक कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ।
कार्यक्रममा चर्चित गायक तथा मोडल चक्र बम र चर्चित गायिका हरिना नाथको विशेष सांगीतिक प्रस्तुति रहनेछ। यस्तै, स्थानीय कला, संस्कृति तथा परम्परा झल्काउने विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत रहने सुर्नया युनाइटेड क्लबका अध्यक्ष प्रकाश साउदले जानकारी दिनुभएको छ ।
कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ। गौरापर्वको मौलिक संस्कृति तथा परम्पराको संरक्षण, प्रवर्द्धनसँगै मनोरञ्जन प्रदान गर्ने र स्थानीय समुदायलाई एकै ठाउँमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको सुर्नया युनाइटेड क्लबले जनाएको छ।
क्लबले गौरापर्व विशेष कार्यक्रममा स्थानीय बासिन्दा तथा दर्शकलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन आग्रह गरेको छ।