धनगढी, ८ भदौ / मधेश प्रदेश बारा जिल्लाकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा देशभर भइरहेका प्रदर्शनअन्तर्गत धनगढीमा पनि विद्यार्थीहरूले शान्तिपूर्ण प्रदर्शन तथा दीप प्रज्वलन गरेका छन्।
स्वतन्त्र विद्यार्थी युनियन, कैलाली बहुमुखी क्याम्पसको आयोजनामा धनगढी–१ स्थित पार्क मोडमा सोमबार विभिन्न विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूको सहभागितामा प्रदर्शन गरिएको हो।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले बालिका तथा महिलामाथि हुने हिंसा र बलात्कारका घटनामा दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन्। उनीहरूले ‘छोरी चेलीको रक्षा गर, नत्र कुर्सी खाली गर’, ‘स्टप रेप’, ‘बलात्कारी मुर्दाबाद’, ‘अपराध लुकाउने होइन, अपराधीलाई सजाय गर’, ‘नारीको सुरक्षा सुनिश्चित गर’ र ‘बलात्कारविरुद्ध शून्य सहनशीलता’ लगायतका नारा लगाएका थिए।
यस्तै, प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ‘आयो भन्थे नयाँ सत्ता, गयो कहाँ छैन पत्ता’ भन्दै सरकारप्रति पनि आक्रोश व्यक्त गरेका थिए।
न्यायको माग गर्दै गरिएको कार्यक्रममा विद्यार्थीहरूले नाराबाजीसँगै साहित्यिक रचना तथा आफ्ना विचारसमेत प्रस्तुत गरेका थिए। सहभागीहरूले बालिका तथा महिलाको सुरक्षा राज्यको प्रमुख दायित्व भएकाले यस्ता घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा गरिमा चौधरीको घटनामा न्याय सुनिश्चित गर्न तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन राज्यले प्रभावकारी सुरक्षा र कानुनी व्यवस्था कार्यान्वयन गर्नुपर्ने माग गरिएको थियो।
शान्तिपूर्ण प्रदर्शनपछि मौन धारण र दीप प्रज्वलन गरेर कार्यक्रमको समापन गरिएको थियो।