धनगढी , ८ भदौ / पलिया विधानसभा क्षेत्रको मकनपुरबाट दोस्रो भव्य सद्भावना डाक कावड यात्रा सुरु भएको छ। प्रहलाद लोधीको नेतृत्वमा करिब सय जना कावड तीर्थयात्री सहभागी रहेको यात्रामा श्रद्धालुहरूले गोदावरीबाट पवित्र जल लिएर गोला गोकर्णनाथतर्फ प्रस्थान गरेका छन्।
कावड यात्रीहरूले सर्वप्रथम पंचमुखी बालाजी मन्दिरमा पूजा–आराधना तथा दर्शन गरेका थिए। त्यसपछि गोदावरी पुगेर पवित्र जल कावडमा भरेका उनीहरू जल बोकेर दौडिँदै भारतको प्रसिद्ध धार्मिकस्थल छोटी काशी गोला गोकर्णनाथ पुग्ने र त्यहाँ भगवान् महादेवको जलाभिषेक गर्ने कार्यक्रम रहेको जनाइएको छ।
नेपाल–भारत सीमाबाट पवित्र जल बोकेर अघि बढेको सद्भावना डाक कावड यात्राले दुई देशका नागरिकबीच धार्मिक तथा सामाजिक सद्भाव र आपसी सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको भारतीय जनता पार्टी पलियाका नेता रवि गुप्ताले बताएका छन् ।
यसले धार्मिक पर्यटनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।