काठमाडौं, ७ भदौ / नेपाल वाङ्मय परिषद्, धनगढी कैलालीको आयोजनामा संस्थाका कार्यसमिति सदस्य तथा लघुकथाकार लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ को काठमाडौंमा विमोचन गरिएको छ।
आज (७ गते) काठमाडौंस्थित ग्रीनलिफ रेष्टुरेन्टमा आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षता रहेको थियो। कृतिको विमोचन वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मीले गर्नुभएको हो।
विमोचन समारोहमा नेपाली लघुकथामा विद्यावारिधि गर्नुभएका डा. हरिप्रसाद भण्डारी र हाम्रो लघुकथा केन्द्रकी संस्थापक अध्यक्ष लता केसी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा साझा प्रकाशनका सञ्चालक सदस्य मनोहर लामिछाने, वरिष्ठ लघुकथाकार हरि थापा, वरिष्ठ साहित्यकार डा. अमर शाह, मधुपर्कका सम्पादक दीपक श्रेष्ठ तथा वरिष्ठ साहित्यकार डा. नवराज रिजाललगायतको उपस्थिति थियो।
कार्यक्रममा डा. शेखरकुमार श्रेष्ठ र शेखर अर्यालले ‘प्रश्नोत्तर’ कृतिका विभिन्न पक्षमाथि चर्चा गर्नुभएको थियो। त्यस क्रममा मनोहर लामिछाने, हरि थापा, डा. नवराज रिजाल, दीपक लोहनी तथा कृतिका प्रकाशक भूँडीपुराण प्रकाशनका केशव पराजुलीले कृतिकारलाई शुभकामना व्यक्त गर्नुभएको थियो।
कृतिकार लक्ष्मीप्रसाद पौडेलले ‘प्रश्नोत्तर’ लेखनका सन्दर्भ, सिर्जनात्मक सोच र कृतिका विषयवस्तुबारे आफ्ना धारणा राख्नुभएको थियो। कार्यक्रममा महेन्द्र न्यौपाने, ध्रुवराज थापा, प्रार्थना खनाल र शान्ता तिमिल्सिनाले विमोचित कृतिबाट लघुकथा वाचन गर्नुभएको थियो।
वन्दना घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि लता केसी र डा. हरिप्रसाद भण्डारी तथा प्रमुख अतिथि ध्रुव मधिकर्मीले नेपाली लघुकथाको वर्तमान अवस्था, सम्भावना र ‘प्रश्नोत्तर’ कृतिका विविध पक्षबारे विचार व्यक्त गर्नुभएको थियो।
विमोचन समारोहमा कृतिकार पौडेलका पारिवारिक सदस्यसहित करिब ५० जना साहित्यकारको सहभागिता रहेको थियो।