काठमाण्डौ ९ जेठ-केन्द्र सरकारले उपत्यकाका सबै नाका सिल गर्नलाई निर्देशन दिएको छ। गृह मन्त्रालयले लकडाउनको अवधिभर अति अत्यावश्यक बाहेकका अन्य व्यक्ति र सवारीलाई प्रवेश गर्न नदिन उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको हो।
उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिसंगको छलफलपछि यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागिएको गृहले जनाएको छ। गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा जेठ १ गते बसेको बैठकमा गृहसचिव, काठमाडौं र ललितपुर महानगर प्रमुख, उपत्यकाका नाकासंग जोडिएका स्थानीय तहका पालिका प्रमुख, उपप्रमुख, उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी थिए ।
काठमाडौं उपत्यकामा अति आवश्यक कामका लागि प्रवेश गर्नेले उपत्यका प्रवेश पुर्व नै स्वयम् आफ्नो खर्चमा उपलब्ध भएसम्म आरटिडी परिक्षण गरि सोको रिपोर्ट काठमाडौं उपत्यका प्रवेश अनुमतिका लागि माग गर्नुपर्ने गृहले जनाएको छ। गृहको निर्देशनअनुसार अब उपत्यका छिर्न ’कोरोनामुक्त प्रमाणपत्र’ अनिवार्य हुने छ। गृहले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो अनुरोध गरेसँगै अब उपत्यका प्रवेशमा थप कडाई हुने भएको छ ।
