धनगढी, ६ भदौ / निजी क्षेत्रमा बालबालिकाको अधिकार संरक्षण गर्दै व्यवसायलाई बालमैत्री बनाउने र बालश्रम न्यूनीकरण गर्ने उद्देश्यले धनगढीमा सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ।
सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको आयोजना तथा कैलाली उद्योग वाणिज्य सङ्घको समन्वयमा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट आएका नागरिक समाजका प्रतिनिधि, उद्योगी व्यवसायी, सिडिसीका प्रतिनिधि, प्रदेशस्तरीय बाल सञ्जालका पदाधिकारी तथा सामाजिक विकास मन्त्रालयका प्रतिनिधिको सहभागिता रहेको थियो।
अन्तरक्रियामा निजी क्षेत्रभित्र बालश्रमको प्रयोग रोक्ने, व्यवसाय तथा कार्यस्थललाई बालमैत्री बनाउने, बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार, शोषण तथा जोखिमपूर्ण काम रोक्ने र बाल अधिकारसम्बन्धी कानुनी व्यवस्थाबारे व्यवसायी तथा कर्मचारीलाई सचेत गराउने विषयमा छलफल गरिएको थियो।
कार्यक्रमका क्रममा उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घ, निर्माण व्यवसायी सङ्घ, यातायात व्यवसायी सङ्घलगायत निजी क्षेत्रका व्यवसायीहरूले बालबालिकाको अधिकार सम्मान, संरक्षण र प्रवर्द्धन गर्ने सामूहिक प्रतिबद्धता समेत जनाएका छन्।
प्रतिबद्धतापत्रमा बालश्रम प्रयोग नगर्ने र आफ्ना व्यवसाय तथा कार्यस्थललाई क्रमशः बालश्रममुक्त बनाउने, होटल, यातायात, निर्माण, उद्योग तथा अन्य व्यवसायमा बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार, शोषण र जोखिम न्यूनीकरण गर्ने उल्लेख छ।
त्यस्तै व्यवसायी, कर्मचारी तथा श्रमिकलाई बाल अधिकार, बाल संरक्षण र बालश्रमसम्बन्धी कानुनी प्रावधानबारे सचेतना अभिवृद्धि गर्ने, बालबालिकालाई जोखिमपूर्ण काममा लगाउने, ओसारपसार गर्ने वा शोषण गर्ने कार्य रोक्न व्यवसायिक क्षेत्रमा निगरानी र सहकार्य गर्ने प्रतिबद्धता गरिएको छ।
बालश्रम न्यूनीकरणका लागि स्थानीय तह, प्रहरी, श्रम कार्यालय, बाल अधिकार समिति, नागरिक समाज तथा अन्य सरोकारवालासँग सहकार्य गर्ने र व्यवसायिक सङ्घहरूले आफ्ना सदस्य व्यवसायीलाई बालश्रमविरुद्ध आचारसंहिता तथा प्रतिबद्धता लागू गर्न प्रोत्साहित गर्ने पनि प्रतिबद्धतामा उल्लेख गरिएको छ।
यसैगरी बालबालिकाको शिक्षा, सुरक्षा र विकासमा सहयोग पुर्याउन निजी क्षेत्रको सामाजिक उत्तरदायित्व (CSR) मार्फत बालमैत्री कार्यक्रम सञ्चालन गर्ने तथा आगामी दिनमा निजी क्षेत्रको सहभागितामा ‘बालश्रममुक्त व्यवसाय/बालमैत्री व्यवसाय’ अभियान सञ्चालन गर्ने सहमति भएको छ।
कार्यक्रममा कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्करराज ओझाले बालबालिकाको संरक्षण र अधिकारका लागि उद्योग वाणिज्य सङ्घ प्रतिबद्ध रहेको बताए। उनले बालश्रममुक्त व्यवसाय निर्माणका लागि आफूले गर्न सक्ने सबै पहल कदमी चाल्ने बताए।
यस्तै सामुदायिक विकास केन्द्र डोटीकी अध्यक्ष निर्मला रोस्याराले सबैको सहकार्यबाट मात्रै सुदूरपश्चिम प्रदेशलाई बालमैत्री प्रदेश घोषणा गर्न सकिने बताइन्। उनले बालबालिकाको संरक्षणका लागि सरकार मात्रै जिम्मेवार नभई निजी क्षेत्र, नागरिक समाज, व्यवसायी र समुदाय सबैले आ–आफ्नो तहबाट आजैदेखि पहल गर्नुपर्नेमा जोड दिइन्।
सामुदायिक विकास केन्द्र डोटीले सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि बाल अधिकार तथा बाल संरक्षणका क्षेत्रमा काम गर्दै आएको छ। संस्थाले पछिल्लो समय कर्णाली प्रदेशसहित देशका विभिन्न क्षेत्रमा समेत बालबालिका तथा समुदायसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
अन्तरक्रियाबाट निजी क्षेत्रलाई बाल संरक्षणको दायरामा जोड्दै व्यवसायिक प्रतिष्ठानलाई बालश्रममुक्त र बालमैत्री बनाउने अभियानलाई थप प्रभावकारी बनाउन साझा प्रतिबद्धता निर्माण भएको कार्यक्रम संयोजक एकराज बडुले बताएका छन्।