धनगढी, ५ भदौ / यातायात व्यवसायी विक्रम स्वाँरले आफ्नो ३८औँ जन्मदिनको अवसरमा धनगढी उपमहानगरपालिका-१३ मा रहेको दृष्टि फाउन्डेसन नेपाललाई खाद्यान्न सहयोग गरेका छन्।
जन्मदिनको अवसरमा पार्टी तथा अनावश्यक खर्च गर्नुको सट्टा सामाजिक सेवामा सहयोग गर्ने उद्देश्यले स्वाँरले फाउन्डेसनलाई दाल, चामल, तरकारी, तेल, फलफूललगायतका खाद्यान्न सामग्री सहयोग गरेका हुन्। स्वाँरले परिवार सहित फाउन्डेसनमा पुगेर खाद्यान्न हस्तान्तरण गरेका थिए।
जन्मदिनमा फजुल खर्च गर्नुभन्दा आफूले सकेको सहयोग सामाजिक क्षेत्रमा लगाउनु उचित हुने स्वाँरले बताए। ‘खान पुगोस्, दिन पुगोस्’ भन्ने भावनाका साथ दृष्टि फाउन्डेसनले असहाय, पीडित महिला तथा बालबालिकाको संरक्षण गर्दै आएको भन्दै उनले फाउन्डेसनको मानवीय कार्यमा आफ्नो पनि सहभागिता रहेको बताए।
दृष्टि फाउन्डेसनमा हाल महिला तथा बालबालिका गरी करिब ७० जना आश्रित रहेको बताइएको छ। उनीहरूको दैनिक आवश्यकतामा सहयोग पुर्याउने उद्देश्यले खाद्यान्न सहयोग गरिएको स्वाँरले बताए।
नेपाल सुख्खा बन्दरगाह तथा श्रमिक संघका केन्द्रीय सदस्यसमेत रहेका स्वाँर सुदूरपश्चिम यातायात व्यवसायीका उद्धार सदस्य तथा यातायात व्यवसायी हुन्। उनले आगामी दिनमा पनि सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन्।