धनगढी, ५ भदौ / सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, पर्यटन तथा मौलिक पहिचानलाई राष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्यसहित आगामी भदौ १७ गते आयोजना हुने ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को मञ्च व्यवस्थापनमा नवजीवन अस्पतालले सहकार्य गर्ने भएको छ।
अस्पतालका प्रबन्ध निर्देशक चक्र कठायतले कार्यक्रमको मञ्च व्यवस्थापन तथा आवश्यक सहयोगमा नवजीवन अस्पतालले सहकार्य गर्ने जानकारी दिनुभयो। सुदूरपश्चिमको कला, संस्कृति, भाषा, लोकपरम्परा र पर्यटनलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रमसँग जोडिन पाउनु सकारात्मक भएको उहाँले बताउनुभयो।
‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ हास्यव्यङ्ग्य तथा मनोरञ्जनमा मात्र सीमित नरही प्रदेशको कला, संस्कृति, भाषा, भेषभूषा, लोकपरम्परा तथा पर्यटनलाई राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने माध्यम बन्ने आर्थिक संयोजक शुभेष पाठकले जानकारी दिनुभयो।
कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाका कलाकार तथा हास्यव्यङ्ग्य क्षेत्रका प्रतिभाहरूको प्रस्तुति रहनेछ। कार्यक्रममार्फत प्रदेशका मौलिक कला, संस्कृति र स्थानीय पहिचानलाई राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको संयोजक सरस्वती भट्टले बताएकी छन् ।
आगामी भदौ १७ गते आयोजना हुने कार्यक्रमले सुदूरपश्चिमको मौलिक कला तथा संस्कृतिसँगै यहाँका पर्यटकीय सम्भावनालाई समेत राष्ट्रियस्तरमा चिनाउन योगदान पुग्ने विश्वास गरिएको छ। नवजीवन अस्पतालको मञ्च व्यवस्थापनमा रहने सहकार्यले कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने संयोजक भट्टको भनाई छ।