बाजुरा, २९ साउन / बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएकी एक युवती मृत अवस्थामा फेला परेकी छन् । लगातार परेको अविरल वर्षाका कारण बिहीबार राति पहिरो जाँदा स्थानीय २० वर्षीया प्रतिक्षा थापा बेपत्ता भएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी नरेश बहादुर शाहीका अनुसार त्रिवेणी नगरपालिका-९ ताम्सुमा साउन २८ गते बेलुकीदेखि परेको अविरल वर्षापछि पहिरो गएको हो। पहिरोका कारण दुई वटा घर पूर्णरूपमा पुरिएका छन्।
पहिरोमा परी कर्ण थापाकी छोरी प्रतिक्षा थापा बेपत्ता भएपछि प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको टोलीले खोजी तथा उद्धार अभियान सञ्चालन गरेको थियो। खोजीका क्रममा प्रतिक्षालाई घटनास्थलमै पहिरोमा पुरिएकी र मृत अवस्थामा भेटाएको बताएका छन । पहिरोमा परी स्थानीय अन्दाजी ४० वर्षीय धर्म थापा र अन्दाजी ४० वर्षीया धौली देवी रावल घाइते छन्।
धर्म थापाको बाँया खुट्टा र शरीरमा चोट लागेको छ भने धौली देवी रावलको टाउको, शरीर र दाहिने खुट्टामा चोट लागेको तथा कानबाट रगत बगेको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ। घाइते दुवै जनालाई उद्धार गरी जिल्ला अस्पताल मार्तडी पुर्याइएको छ। मृतक प्रतिक्षा थापाको शवसम्बन्धी घटनास्थल मुचुल्का लगायतका आवश्यक प्रक्रिया प्रहरीले अघि बढाइरहेको जनाएको छ।