धनगढी, २७ साउन / समयमै धानबालीका लागि आवश्यक मल नपाएपछि धनगढी उपमहानगरपालिका–११ का स्थानीयले उपमहानगरपालिका कार्यालय अगाडि आन्दोलन गरेका छन्। धानमा मल हाल्ने समय भइसक्दा पनि मल नपाएपछि यसअघि वडा कार्यालयमा तालाबन्दी गरेका किसानहरू आफ्नो समस्या लिएर उपमहानगरपालिका पुगेका हुन्।
धनगढी-११ मा परिवर्तन सहकारी र सफलता सहकारीमार्फत मल वितरण हुँदै आएको छ। तर, वडाका लागि नगरपालिकाबाटै कम परिमाणमा मल छुट्याइएकाले मागअनुसार किसानलाई मल उपलब्ध गराउन नसकिएको सहकारीका प्रतिनिधिहरूले बताएका छन्।
सहकारीका प्रतिनिधिका अनुसार वडा नं. ११ लाई कृषिक्षेत्रभन्दा गैरकृषिक्षेत्रका रूपमा वर्गीकरण गरिएपछि वडाको मलको कोटा पनि कम भएको हो। कृषियोग्य जमिन खण्डीकरण हुँदै आवास क्षेत्रमा परिणत गरिएकाले समेत मलको कोटा घटेको किसानहरूको बुझाइ छ।
धनगढी उपमहानगरपालिकाका कृषि शाखा प्रमुख केशव भट्टका अनुसार उपमहानगरपालिकाले करिब चार वर्षअघि नै नगरभित्रका वडाहरूलाई कृषिक्षेत्र र गैरकृषिक्षेत्रमा वर्गीकरण गरेको थियो। सोही वर्गीकरणअनुसार वडा नं. ११ गैरकृषिक्षेत्रमा परेकाले अन्य कृषिक्षेत्रमा पर्ने वडाको तुलनामा केही कम मल छुट्याइएको उनले बताए।
यद्यपि, मलको आपूर्तिमा उपमहानगरपालिकाको प्रत्यक्ष भूमिका नरहेको भट्टको भनाइ छ। संघीय सरकारसँगको सहकार्यमा साल्ट ट्रेडिङ कर्पोरेसनले खरिद गरी धनगढी उपमहानगरपालिकाभरिका लागि करिब २ हजारदेखि २१ सय बोरा युरिया र डीएपी मल पठाएको भए पनि त्यो परिमाण नगरभरिका किसानको मागको तुलनामा कम रहेको उनले जानकारी दिए।
यद्यपि यो समस्या समाधानको लागि केही कोटा थपिएको कृषि शाखा प्रमुख भट्टले जानकारी दिए।
धानबालीमा मल आवश्यक पर्ने मुख्य समयमा समेत मलको अभाव भएपछि किसानहरू समस्यामा परेका छन्। उनीहरूले समयमै पर्याप्त मल उपलब्ध गराउन उपमहानगरपालिका र सम्बन्धित निकायसँग माग गरेका छन्।