धनगढी, २६ साउन / टाटा मोटर्सले ठूलो ब्याट्री क्षमता र अत्याधुनिक फिचर्ससहित नयाँ टाटा पन्च ईभी फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक गरेको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले मंगलबार देशभरका आधिकारिक डिलरमार्फत नयाँ पन्च ईभी एकैसाथ सार्वजनिक गरेको हो।
सुदूरपश्चिम प्रदेशको आधिकारिक डिलर जीएआरएस ट्रेडिङ कन्सर्न, धनगढी मा पनि एक कार्यक्रमबीच नयाँ पन्च ईभी सार्वजनिक गरिएको छ। जीएआरएस ट्रेडिङ कन्सर्नका एमडी अशोक पाण्डेय, सोरुम म्यानेजर करिना अन्सारी र सिप्रदी ट्रेडिङका डिलर इन्चार्ज ललित बोगटीले संयुक्त रूपमा गाडी सार्वजनिक गरेका हुन्।
नयाँ पन्च ईभीमा ४० किलोवाट क्षमताको ब्याट्री र ९५ किलोवाटको मोटर जडान गरिएको कम्पनीले जनाएको छ। गाडीमा १९५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ६ वटा एयरब्याग र ५ स्टार सेफ्टी रेटिङ रहेको छ।
नेपाली सडकको अवस्थालाई ध्यानमा राखेर नयाँ पन्च ईभी उपयोगी हुने सिप्रदी ट्रेडिङका डिलर इन्चार्ज ललित बोगटीले बताए। उनका अनुसार गाडीको ढोका ९० डिग्रीसम्म खुल्ने भएकाले यात्रु चढाउन–ओराल्न सहज हुनुका साथै पारिवारिक प्रयोगका लागि पनि उपयुक्त छ।
नयाँ पन्च ईभी फेसलिफ्टको सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। यस्तै, यसको टप भेरियन्टको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ। गाडी पाँचवटा कलर अप्सनमा उपलब्ध हुने जनाइएको छ।
धनगढीमा नयाँ पन्च ईभीप्रति ग्राहकको चासो सुरुवातमै देखिएको छ। जीएआरएस ट्रेडिङ कन्सर्नकी सोरुम म्यानेजर करिना अन्सारीका अनुसार गाडी सार्वजनिक हुनुअघि नै ५ जना ग्राहकले बुकिङ गरिसकेका थिए। मंगलबार सार्वजनिक गरिएपछि पनि दर्जनौं ग्राहक गाडीबारे जानकारी लिन सोरुम पुगेका थिए।
जीएआरएस ट्रेडिङ कन्सर्नका एमडी अशोक पाण्डेयले टाटा विश्वस्तरीय र विश्वसनीय अटोमोबाइल ब्रान्ड भएकाले टाटासँग जोडिएर काम गर्न आफूहरू उत्साहित रहेको बताए।
नयाँ पन्च ईभी नेपाली बजारमा सार्वजनिक भएसँगै विद्युतीय सवारीको क्षेत्रमा प्रतिस्पर्धा थप बढ्ने अपेक्षा गरिएको छ। ठूलो ब्याट्री क्षमता, सुरक्षा सुविधा, उच्च ग्राउन्ड क्लियरेन्स र आकर्षक मूल्यलाई यसको मुख्य विशेषताका रूपमा हेरिएको छ।