धनगढी, २५ साउन / सडक सञ्जाल विस्तार हुँदै गए पनि दिगो र व्यवस्थित सडक निर्माण नहुँदा बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाका ग्रामीण क्षेत्रका नागरिकले वर्षेनी सास्ती खेप्नुपरेको छ। बर्खा सुरु भएसँगै ग्रामीण सडक हिलाम्मे हुने, पहिरो खस्ने, सडक भासिने तथा पानीको उचित निकास नहुँदा स्थानीय तहका केन्द्रदेखि जिल्ला सदरमुकाम र जिल्ला बाहिर जोड्ने अधिकांश सडकमा आवतजावत जोखिमपूर्ण बनेको हो।
विशेषगरी कच्ची तथा स्तरोन्नतिको क्रममा रहेका सडकमा वर्षाको असर बढी देखिएको छ। कतिपय सडकमा नाली तथा पानी निकासको उचित व्यवस्था नहुँदा वर्षाको पानी सडकबाटै बग्ने गरेको छ। पहिरो नियन्त्रणका संरचना कमजोर हुँदा सामान्य वर्षामै सडक अवरुद्ध हुने गरेको स्थानीयको गुनासो छ।
निर्माण सम्पन्न भइसकेका सडकमा समेत नियमित मर्मतसम्भार नहुँदा वर्षेनी उस्तै समस्या दोहोरिने गरेको स्थानीय बताउँछन्।
सडकको खराब अवस्थाले ग्रामीण क्षेत्रका नागरिकको दैनिक जीवन नै प्रभावित भएको छ। उपचारका लागि अस्पताल पुग्नुपर्ने बिरामी, विद्यालय जाने विद्यार्थी, सरकारी सेवा लिन सदरमुकाम पुग्ने सेवाग्राही तथा कृषि उपज बजारसम्म लैजाने किसानले वर्षायाममा जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था छ।
जिप चालक धर्मसिंह महराले बर्खाको समयमा ग्रामीण सडकमा सवारी सञ्चालन गर्नु निकै चुनौतीपूर्ण हुने बताउनुभयो। सडक हिलाम्मे हुँदा सवारीसाधन चिप्लिने, माथिबाट पहिरो खस्ने र सडक भासिने जोखिम रहने भएकाले यात्रुको सुरक्षालाई ध्यानमा राखेर अत्यन्त सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ।
“सडकको अवस्थाका कारण मोटरसाइकल चालक र यात्रु झन् बढी जोखिममा पर्ने गरेका छन्,” महराले भन्नुभयो।
पुर्चौंडी नगरपालिका–२ का हर्कबहादुर बोहराले सडक निर्माण समयमै सम्पन्न नहुनु, बजेट अभाव र प्रभावकारी अनुगमन नहुनुका कारण नागरिकले हरेक वर्ष समस्या भोग्नुपरेको बताउनुभयो।
निर्माण सुरु भए पनि तोकिएको समयमा काम सम्पन्न नहुँदा वर्षा लाग्नेबित्तिकै सडक अवरुद्ध हुने र कतिपय अवस्थामा दुर्घटनासमेत हुने गरेको उहाँले बताउनुभयो।
स्थानीय व्यवसायी सुरेश बिष्टले ठेक्का लिएपछि कामलाई निरन्तरता नदिने र निर्माणस्थलमै काम अलपत्र छाड्ने प्रवृत्तिले समस्या झन् जटिल बनेको बताउनुभयो। निर्माण व्यवसायीले सुरुमा काम गरे पनि पछि सम्पर्कमा नआउने वा काम अधुरै छाड्ने गरेका कारण कतिपय सडक वर्षौँदेखि अधुरो रहेको उहाँको भनाइ छ।
सडक निर्माणका क्रममा पर्याप्त नाली, पानी निकास, पर्खाल तथा पहिरो नियन्त्रणका संरचनालाई प्राथमिकता नदिँदा हरेक वर्षायाममा सडक क्षतिग्रस्त हुने समस्या दोहोरिने गरेको स्थानीयको गुनासो छ।
१६५ किलोमिटर सडकमा मर्मतसम्भार
यता सडक सञ्चालनलाई सहज बनाउन नियमित मर्मत तथा आकस्मिक रूपमा सडक खुलाउने तयारी गरिएको सम्बन्धित निकायले जनाएको छ। अनारखोली–झुलाघाट, खोड्पे–बिथ्थड तथा सतबाँझ–गोकुले सडकखण्डलगायत करिब १६५ किलोमिटर सडकमा नियमित मर्मतसम्भार भइरहेको सडक डिभिजन कार्यालय पाटन, बैतडीका प्रमुख किरण सुवेदीले जानकारी दिनुभयो।
वर्षाका बेला पहिरोका कारण सडक जुनसुकै बेला अवरुद्ध हुनसक्ने भएकाले झुलाघाट, सतबाँझ र बिथ्थड क्षेत्रमा डोजर तथा अन्य आवश्यक उपकरण तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो। सडक अवरुद्ध भएको सूचना प्राप्त हुनासाथ उपकरण परिचालन गरी यातायात सञ्चालनमा ल्याउने गरिएको सुवेदीको भनाइ छ।
पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख सङ्गीत रोकायाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाभित्र ५२ किलोमिटर सडक निर्माणको काम अघि बढाइएको थियो। पाटन-पञ्चेश्वर सडकखण्डअन्तर्गत नौ किलोमिटर सडक कालोपत्रे भएको तथा अन्य स्थानमा पहिरो नियन्त्रणका पर्खाल, नाली निर्माण र पहिरो पन्छाउने काम गरिएको उहाँले जानकारी दिनुभयो।
तीन वर्षमा ३४ दुर्घटना, ५७ जनाको मृत्यु
वर्षायाममा सडक जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले समेत सावधानी अपनाउन आग्रह गरेको छ। लगातार वर्षा भएका बेला ग्रामीण कच्ची सडकमा रातिको समयमा तथा अत्यधिक वर्षा भइरहेका बेला दिउँसोसमेत सवारी सञ्चालन नगर्न प्रशासनले सार्वजनिक सूचना जारी गरेको छ। सडकको खराब अवस्था र जोखिमपूर्ण यात्राका कारण दुर्घटनासमेत हुने गरेको प्रहरी तथ्याङ्कले देखाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पछिल्ला तीन वर्षमा जिल्लामा ३४ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ५७ जनाको मृत्यु भएको छ भने १२६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरजसिंहका अनुसार जिल्लामा सवारी दुर्घटनाको दर बढ्दो क्रममा छ।
स्वास्थ्य र शिक्षामा समेत असर
सडकको खराब अवस्थाको प्रत्यक्ष असर स्वास्थ्य सेवामा समेत परेको छ। बर्खाका बेला बिरामी, गर्भवती महिला तथा आकस्मिक अवस्थाका बिरामीलाई स्वास्थ्य संस्था पुर्याउन कठिन हुने एम्बुलेन्स चालक रोशन चन्दले बताउनुभयो। सडकमा हिलो तथा पहिरोका कारण कतिपय स्थानमा एम्बुलेन्स सञ्चालनमै समस्या हुने गरेको उहाँले बताउनुभयो।
शिक्षा क्षेत्रमा समेत सडकको अवस्थाले प्रभाव पारेको छ। सिगास गाउँपालिका–२ स्थित अर्जुन माध्यमिक विद्यालय गाजरीमा अध्ययनरत छात्रा जानकी धामीले बर्खाका बेला खोला तरेर विद्यालय पुग्नुपर्ने तथा गाउँका सडकमा हिँडडुल गर्नसमेत कठिन हुने गरेको अनुभव सुनाउनुभयो।
बैतडी नागरिक समाजका अध्यक्ष गणेश ठकुराठीले सडक निर्माणमा हुने ढिलासुस्ती र कमजोरी अन्त्य गर्न सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्ने बताउनुभयो।
राजनीतिक पहुँच र प्रभावका आधारमा ठेक्का पाउने तर काम समयमै सम्पन्न नगर्ने प्रवृत्ति अन्त्य गर्न प्रभावकारी अनुगमन र कडाइ आवश्यक रहेको उहाँको भनाइ छ। जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामीले सडक निर्माणलाई ट्र्याक खोल्ने वा कालोपत्रे गर्ने काममा मात्र सीमित गर्न नहुने बताउनुभयो।
उनका अनुसार सडक निर्माणसँगै पानी निकास, पहिरो नियन्त्रण, सडक सुरक्षाका संरचना र नियमित मर्मतसम्भारलाई समेत प्राथमिकतामा राख्न आवश्यक छ। सुदूरपश्चिमका पहाडी जिल्लामा सडक सञ्जाल विस्तारसँगै यातायातको पहुँच बढे पनि सडकको गुणस्तर, दिगोपन र नियमित मर्मतसम्भार अझै चुनौतीका रूपमा रहेको छ।
वर्षेनि बर्खा सुरु भएपछि सडक बिग्रने र नागरिकले जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्थाको अन्त्यका लागि योजना छनोटदेखि निर्माण र मर्मतसम्मका काममा गुणस्तर कायम गर्नुपर्ने सरोकारवालाको भनाइ छ।
निर्माण व्यवसायीलाई तोकिएको समयभित्र काम सम्पन्न गराउने, प्राविधिक अनुगमन प्रभावकारी बनाउने तथा निर्माण सम्पन्न भएका सडकको नियमित मर्मतसम्भार गर्ने हो भने वर्षायाममा दोहोरिने सडक समस्यालाई न्यूनीकरण गर्न सकिने देखिन्छ।