बैतडी , २४ साउन / सुर्नया गाउँपालिका–८ सेला घर भएका कृष्ण बोहराको कानुन विषयको पढाइ आर्थिक अभावका कारण प्रभावित हुने अवस्थामा पुगेको छ। गाउँपालिका अध्यक्ष अमरबहादुर कुँवरले छात्रवृत्तिका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिएपछि पटक–पटक निवेदन दिए पनि हालसम्म त्यसबारे कुनै निर्णय नभएको बोहराको गुनासो छ।
बोहरा कर्णाली प्रदेशको मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत स्कुल अफ ल, सुर्खेतमा कानुन संकायको दोस्रो वर्षमा अध्ययनरत छन्। उनका अनुसार गत जेठ ५ गते गाउँपालिका अध्यक्ष कुँवरसँग भएको फोन कुराकानीमा छात्रवृत्तिका लागि निवेदन दिन र गाउँपालिकाबाट सक्दो सहयोग गर्ने आश्वासन दिइएको थियो। सोही आश्वासनपछि उनले जेठ ११ गतेदेखि १८ गतेसम्म गरी पाँचवटा निवेदन गाउँपालिकामा पेस गरेको बताए।
तर, ती निवेदन हालसम्म गाउँ कार्यपालिकाको बैठकमा पेस नभएको बोहराको भनाइ छ। पटक–पटक गाउँपालिकामा बुझ्दा समेत निवेदनमाथि छलफल वा निर्णय नभएको उनले बताए।
‘अध्यक्षज्यूले छात्रवृत्तिका लागि १ लाख रुपैयाँसम्म सहयोग गर्ने आश्वासन दिनुभएको थियो। त्यसैअनुसार मैले आवश्यक कागजातसहित पटक–पटक निवेदन दिएँ। तर अहिलेसम्म निवेदनमाथि कुनै निर्णय भएको छैन,’ बोहराले भने।
आगामी वार्षिक परीक्षाको शुल्कसमेत तिर्न कठिनाइ भइरहेको अवस्थामा गाउँपालिकाबाट सहयोग हुने आश्वासनका कारण आफू थप अन्योलमा परेको उनले बताए। आर्थिक स्रोतको अभावमा आगामी परीक्षा नै प्रभावित हुने अवस्था आएको उनको गुनासो छ।
बोहराले गाउँपालिकाको न्यायिक समितिमा समेत निवेदन दिएको बताएका छन्। गाउँपालिका अध्यक्षलाई आफ्ना शैक्षिक कागजात तथा निजी कलेजको आरजीएस कार्डसमेत पठाएको र ती कागजातको दुरुपयोग हुन सक्ने आशंका भएकाले आफूले न्यायिक समितिमा निवेदन दिएको उनको भनाइ छ।
यसैबीच, बोहराले आफूलाई राजनीतिक कारणले सहयोगबाट वञ्चित गरिएको हुनसक्ने आशंकासमेत व्यक्त गरेका छन्। गत वर्ष पुसमा गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्दा आफू सुर्नया–८ स्थित सिगश स्पोर्ट क्लबको संयोजक रहेको र प्रतियोगितामा गाउँपालिकाको सहभागिताका लागि आग्रह तथा पत्र पठाए पनि गाउँपालिकाबाट उपस्थिति नभएको उनको दाबी छ। तर, प्रतियोगिताको विजेता रौलाकेदार रोयललाई गाउँपालिकाले गाडी पठाएर लैजाने काम गरेको उनले बताए।
यद्यपि, छात्रवृत्ति उपलब्ध गराउने विषयमा गाउँपालिकाका अध्यक्षले गरेको भनिएको आश्वासनबारे बुझ्दा; अध्यक्ष कुवँरले छात्रवृत्ति दिने भनेको, यस बारेमा कार्यपालिकामा छलफल समेत भएको तर उपलब्ध गराउन नसकिएको भन्दै एकाएक फोन सम्पर्कबाट बाहिरिए । राजनीति प्रतिशोधबारे प्रश्न गर्दा अध्यक्ष कुँवरले कुनै जवाफ दिएनन् ।
बोहराले आफूले कुनै राजनीतिक आग्रहभन्दा पनि अध्ययन निरन्तरता दिन आर्थिक सहयोग खोजिरहेको बताएका छन्। गाउँपालिकाले आफ्ना निवेदनमाथि आवश्यक छलफल गरी स्पष्ट निर्णय गरिदिनुपर्ने उनको माग छ।