धनगढी, १५ साउन / जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–४ मा पूजा धानुकको मृत्यु प्रकरणमा कर्तव्य ज्यान मुद्दाअन्तर्गत पाँच जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ। घटनाबारे विभिन्न स्थानमा भइरहेको विरोध प्रदर्शनका बीच प्रहरीले निष्पक्ष अनुसन्धान भइरहेको भन्दै संयमता अपनाई कानुनी प्रक्रियामा सहयोग गर्न सबै पक्षसँग आग्रह गरेको छ।
प्रहरीका अनुसार साउन ११ गते अपराह्न करिब ४ बजे धनगढी–४ निवासी भरत धामीकी श्रीमती २३ वर्षीया पूजा धानुक आफ्नै घरको कोठामा सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। उनलाई तत्काल पासोबाट झारी उपचारका लागि नवजीवन अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि मृतकका बुबा प्रेम सिंह धानुकले श्रीमान्सहित एकाघरका पाँच जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले साउन १३ गते पाँचै जनालाई पक्राउ गरेको जनाएको छ। हाल कैलाली जिल्ला अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
घटनापछि मृतकका आफन्तले विभिन्न स्थानमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै निष्पक्ष छानबिनको माग गरिरहेका छन्। यद्यपि प्रहरीले घटनाको अनुसन्धान कानुनबमोजिम निष्पक्ष रूपमा अघि बढिरहेको जनाएको छ।
प्रहरीले घटनाका सम्बन्धमा विभिन्न अड्कलबाजी नगर्न, अनुसन्धानलाई प्रभावित पार्ने गतिविधिबाट टाढा रहन तथा शान्ति, सुरक्षा र सार्वजनिक आवागमनमा असर पर्ने कुनै पनि गतिविधि नगर्न सबै पक्षलाई अनुरोध गरेको छ। घटनाको सत्यतथ्य प्रमाण, पोस्टमार्टम प्रतिवेदन र अनुसन्धानका आधारमा सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
यस्तो छ जिल्ला प्रहरी कार्यालयको विज्ञप्ति :-
