दाङ , १४ साउन / दाङको तुलसीपुरमा स्कुल बस रोकेर विद्यार्थीमाथि खुकुरी प्रहार भएको छ । मोटरसाइकलमा आएका दुई युवाले तुलसीपुर – ८ गहते खोलामा स्कुल बस रोकेर एकजना विद्यार्थीमाथि खुकुरी प्रहार भएको हो ।
तुलसीपुरस्थित ग्रेट अरनिको माविका विद्यार्थी छोड्न जाँदै गरेको बसलाई तुलसीपुर –८ गहते खोलामा रोकेर मोटरसाइकलमा आएका दुई युवाले बसभित्र प्रवेश गरी कक्षा ११ मा अध्यनरत नयन वलीमाथि खुकुरी प्रहार गरेका थिए ।
विद्यालयका प्रिन्सिपल बिष्णु देवकोटाका अनुसार मोटरसाइकलमा आएका दुई युवाले बस रोकेर भित्र प्रवेश गरि उल्टो तिरबाट झमाझम चारपटक खुकुरीले प्रहार गरेका थिए । बिहानी कक्षापछि घर फर्किदै गरेका उनीमाथि आक्रमण गरेपछि उनीहरू भागेका थिए । तुलसीपुर – १ भमके तिरबाट सञ्चालन हुने बसका विद्यार्थी सवार बस रोकेर आक्रमण गर्न थालेपछि बसका चालकले उनीहरू नियन्त्रणमा लिने खोज्दा उनीहरू भागेको प्रिन्सिपल देवकोटाले जानकारी दिए ।
घटना प्रत्येक्ष देखेकी एकजना बसमा सवार छात्रा आत्तिएर बेहोस बनेकी थिइन् । इलाका प्रहरी कार्यालय तुलसीपुरले खुकुरी प्रहार घटनामा संलग्न व्यक्तिहरूको खोजी भइ रहेको जनाएको छ । पुरानो रिसिबीका कारण वलीमाथि आक्रमण भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।