धनगढी, १४ साउन / कैलालीको भजनीस्थित पृथ्वीपुर छोटी भन्सार कार्यालय बन्द गर्ने तयारीप्रति स्थानीय व्यवसायीले आपत्ति जनाएका छन्। भजनी उद्योग वाणिज्य संघले उक्त निर्णय तत्काल सच्याउँदै भन्सार कार्यालय पुनः सञ्चालन गर्न सरकारसँग माग गरेको छ।
संघका अध्यक्ष जयबहादुर बुढाले भजनीबाट छोटी भन्सार हटाउने चर्चा सत्य भए त्यसले स्थानीय नागरिकको अधिकारमाथि हस्तक्षेप हुने, व्यापार–व्यवसायमा प्रतिकूल असर पर्ने तथा भजनीको आर्थिक गतिविधि कमजोर बन्ने बताए।
पृथ्वीपुर छोटी भन्सार कार्यालय हटाउनु केवल एउटा सरकारी कार्यालय स्थानान्तरणको विषय नभई भजनीको पहिचान, स्थानीय व्यापार, रोजगारी र समग्र आर्थिक भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको अध्यक्ष बुढाको भनाइ छ ।
यता, शत्ति भन्सार कार्यालयका प्रमुख नबिन शर्माले भने पृथ्वीपुर छोटी भन्सार कार्यालय भन्सार नियमावलीअनुसार बन्द हुने प्रक्रियामा रहेको जानकारी दिए। उनका अनुसार शत्ति भन्सार कार्यालयबाट करिब २० किलोमिटर दूरीमा रहेको उक्त छोटी भन्सार कार्यालय नियमावलीले प्राथमिकतामा नराखेकाले बन्द गर्ने प्रक्रिया अघि बढाइएको हो।
तर स्थानीय व्यवसायी तथा सर्वसाधारणले भने पृथ्वीपुर छोटी भन्सार कार्यालय भजनी क्षेत्रको व्यापारिक गतिविधि, सीमावर्ती आवतजावत तथा स्थानीय अर्थतन्त्रका लागि अत्यावश्यक रहेको भन्दै यसको निरन्तरताको माग गरेका छन्।
उनीहरूले भन्सार कार्यालय बन्द गर्ने निर्णयले सीमावर्ती क्षेत्रको व्यापार थप प्रभावित हुने र स्थानीय विकासमा समेत नकारात्मक असर पर्ने बताएका छन्।