धनगढी, १४ साउन / धानबालीमा मल हाल्ने मुख्य समयमा पनि रासायनिक मल नपाएपछि कञ्चनपुरका किसान आन्दोलनमा उत्रिएका छन्। जिल्लाका विभिन्न पालिका र गाउँबस्तीका किसानले स्थानीय तह, सहकारी संस्था तथा सरकारको लापरबाहीविरुद्ध प्रदर्शन गर्दै समयमै मल उपलब्ध गराउन माग गरेका छन्।
भीमदत्त नगरपालिका कार्यालयको मूल गेटमा मंगलबार धर्ना दिएका किसानहरूले धान, मकै, उखुलगायतका बालीका लागि आवश्यक रासायनिक मल अभाव हुँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने भन्दै तत्काल समस्या समाधान गर्न सरकारसँग माग गरेका हुन्।
आन्दोलनमा सहभागी किसान रतनराम लुहारले असारमा रोपिएको धान एक महिना पुग्न लाग्दा पनि मल नपाएको गुनासो गरे। सहकारीमा पैसा लिएर जाँदा पनि मल उपलब्ध नभएपछि बाध्य भएर नगरपालिकामा धर्ना दिनुपरेको उनले बताए। चुनावका बेला किसानका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका जनप्रतिनिधि अहिले बेखबर बनेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
यस्तै किसान पदम चौधरीले मलका लागि पटक–पटक सहकारी धाउँदा पनि नपाएपछि आन्दोलनमा सहभागी हुनुपरेको बताए। अहिले खेतमा मल छर्किनुपर्ने समयमा किसान सडकमा उत्रिनु दुःखद भएको उनको भनाइ छ। उनले प्रत्येक वर्ष दोहोरिने मल अभावको समस्या कहिलेसम्म सहनुपर्ने हो भन्दै सरकारसँग प्रश्न गरे।
बेलडाँडी–२ स्थित नवबेलडाँडी कृषि सहकारीविरुद्ध आन्दोलन गरेका किसानहरूले रकम जम्मा गर्दा पनि मल वितरण नगरेको आरोप लगाएका छन्। किसान सुरेशराज जोशीले सहकारीले पासबुकका नाममा अतिरिक्त शुल्क उठाउने तर मल भने समयमै उपलब्ध नगराउने प्रवृत्तिको विरोधमा तालाबन्दी गर्नुपरेको बताए।
शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरस्थित एकता बचत तथा ऋण सहकारी संस्थाविरुद्ध पनि किसानहरूले प्रदर्शन गरेका छन्। किसान रमेशदत्त भट्टले सहकारीले समयमै मल वितरण नगर्दा बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए।
किसान मीना रावतले बिहानदेखि साँझसम्म लाइनमा बस्दा पनि पर्याप्त मल नपाएको गुनासो गरिन्। उनका अनुसार एक किसानलाई १० किलो मात्रै मल वितरण गरिएको छ, जुन खेतीका लागि अत्यन्तै अपर्याप्त हो।
कञ्चनपुरमा करिब १ लाख ६१ हजार ७४१ हेक्टर जमिन रहेकोमा ५९ हजार ६०२ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ। कृषि उत्पादनको मुख्य आधार बनेका हजारौं किसान प्रत्येक वर्षजस्तै यस वर्ष पनि मल अभावको समस्याबाट पीडित बनेका छन्।
उता स्थानीय तहले भने आवश्यक मागअनुसार माथिल्लो निकायबाट पर्याप्त मलको कोटा नआएकाले वितरणमा समस्या भएको जनाएको छ। भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले जिल्लाको मागअनुसार मल आपूर्ति नभएकाले समस्या सिर्जना भएको बताए। वितरण प्रक्रियामा सहकारीबाट अनियमितता भएको पाइए कारबाही गरिने चेतावनी पनि उनले दिए।
मलको चरम अभावले किसान आन्दोलनमा उत्रिएसँगै कञ्चनपुरमा कृषि उत्पादनमा समेत असर पर्ने चिन्ता बढेको छ। किसानहरूले तत्काल पर्याप्त रासायनिक मल उपलब्ध गराई हरेक वर्ष दोहोरिने समस्या स्थायी रूपमा समाधान गर्न सरकारसँग माग गरेका छन्।