धनगढी, १० साउन / एसोसिएसन अफ प्रि–स्कुल एजुकेसन नेपाल (APEN) को सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन भएका छन्।
धनगढीमा सम्पन्न विशेष भेलाले सर्वसम्मत रूपमा सुदूरपश्चिम प्रदेश तथा कैलाली जिल्ला कार्यसमिति चयन गरेको हो। अङ्ग्रेजी शिक्षणको गुणस्तर अभिवृद्धि, संस्थागत विद्यालयहरूको सशक्तीकरण तथा प्रारम्भिक शिक्षाको विकास गर्ने उद्देश्यले आयोजित भेलामा प्रदेश र जिल्लाका संस्थागत विद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
प्रदेश कमिटीको उपाध्यक्षमा निर्मलबहादुर सिंह, सचिवमा सुरेन्द्र बोहरा, कोषाध्यक्षमा भोवीबहादुर कटुवाल तथा सह–सचिवमा भक्तराज ओझा चयन भएका छन्।
त्यसैगरी कैलाली जिल्ला अध्यक्षमा शंकरबहादुर मल्ल चयन भएका छन्। जिल्ला कमिटीको उपाध्यक्षमा अच्युत दाहाल र सृष्टि हुमागाईँ मल्ल, सचिवमा सरिता शाह तथा कोषाध्यक्षमा सुनिता पडाल चयन भएका छन्।
भेलामा संगठन विस्तार, सदस्यता वृद्धि, शिक्षकको क्षमता विकास तथा शैक्षिक गुणस्तर सुधारका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै संस्थागत विद्यालयबीच सहकार्यलाई थप सुदृढ बनाउने, गुणस्तरीय प्रारम्भिक शिक्षा प्रवर्द्धन गर्ने र शिक्षकको व्यावसायिक क्षमता विकासमा साझा रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
