धनगढी,३ साउन / कैलालीको धनगढी उपमहानगरपालिका-७ मनहरास्थित चन्द्रमुखी तालमा मोटरबोट (बोटिङ) सेवा सञ्चालनमा आएको छ। मनहरा सामुदायिक वन उपभोक्ता समूहले पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
मोटरबोट सेवाको उद्घाटन मनहरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मोति राना थारु र उपाध्यक्ष मैना मल्ल पाण्डेले संयुक्त रूपमा रिबन काटेर गरेका थिए।
कार्यक्रममा उपाध्यक्ष मैना मल्ल पाण्डे, अनुगमन उपसमिति सदस्य कमलराज जोशी, लेखा संयोजक प्रकाश ओझा, कार्यालय सचिव लोकेन्द्र जङ्ग ठकुल्लालगायत समूहका पदाधिकारी, स्थानीयवासी तथा सरोकारवालाको सहभागिता रहेको थियो।
चन्द्रमुखी तालका सञ्चालक लोकेन्द्रबहादुर बिष्टले सामुदायिक वनको संरक्षण, दिगो उपयोग र पर्यापर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै मोटरबोट सेवा सञ्चालनमा ल्याइएको बताए। उनका अनुसार यसबाट स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय आयआर्जन वृद्धि र सामुदायिक वन संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
समूहका अनुसार मोटरबोट सेवा प्रचलित कानुन, सुरक्षा मापदण्ड तथा सम्बन्धित निकायबाट प्राप्त स्वीकृतिअनुसार सञ्चालन गरिनेछ। यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक सुरक्षा सामग्रीको प्रयोग र सबै मापदण्डको पालना गरिने जनाइएको छ।
मनहरा सामुदायिक वन उपभोक्ता समूहले चन्द्रमुखी ताललाई पर्यावरण संरक्षण, प्राकृतिक सौन्दर्य र दिगो पर्यटन विकासको नमुना गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनका कामलाई निरन्तर अघि बढाउने जनाएको छ।
