दार्चुला, २ साउन / दार्चुला नौगाड गाउँपालिका-६ स्थित सुकेखोला अस्थायी प्रहरी बिटलाई आवश्यक आधारभूत सामग्री अभाव भएपछि समाजसेवी पुष्कर भट्टले सहयोग प्रदान गरेका छन्।
शैल्यशिखर नगरपालिका-२, रौतेउडा निवासी समाजसेवी भट्टले प्रहरी बिटका लागि बस्ने कुर्सी, पानी पिउने जगलगायत दैनिक प्रयोगमा आवश्यक सामग्री हस्तान्तरण गरेका हुन्। स्थानीय सरकार तथा सम्बन्धित निकायबाट आवश्यक चासो र सहयोग नपुगेको अवस्थामा आफूले मानवीय भावना र सामाजिक उत्तरदायित्वका आधारमा सहयोग गरेको उनले बताए।
सामग्री हस्तान्तरणका क्रममा भट्टले समाजमा आवश्यकतामा परेका व्यक्ति वा संस्थालाई आफ्नो क्षमता अनुसार सहयोग गर्नु सबैको मानवीय दायित्व भएको धारणा व्यक्त गरे। उनले यस्ता आधारभूत आवश्यकताप्रति स्थानीय सरकार र सरोकारवाला निकायले पनि ध्यान दिनुपर्ने बताए।
