धनगढी, २५ असार / जेन्जी आन्दोलनका क्रममा चोरी भएको सरकारी स्कारपियो (सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिनको कार्यालय गाडी ) करिब १० महिनापछि स्वरूप परिवर्तन गरिएको अवस्थामा प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २०८२ भदौ २५ गते धनगढी उपमहानगरपालिका–५ बाट चोरी भएको बा.२ झ २८५९ नम्बरको सरकारी स्कारपियो खोजतलासका क्रममा बरामद गरिएको हो।
प्रहरीले मिति २०८३ असार ८ गते कैलालीको घोडाघोडी नगरपालिका–२ स्थित अर्जुन कार्कीले सञ्चालन गरेको लिगासैनी सःमिल तथा फर्निचर उद्योगभित्रबाट गाडीको बाह्य स्वरूप परिवर्तन गरिएको अवस्थामा फेला पारेको जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा अर्जुन कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि चोरी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्।
प्रहरीका अनुसार आन्दोलनको अवस्थाको दुरुपयोग गर्दै ४–५ जनाको समूहले सरकारी गाडी चोरी गरी लगेका थिए। घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।