काठमाडौं । धुलिखेल अस्पतालमा शनिवार मृत्यु भएकी युवतीको कोरोना भाइरस (कोभिड १९) को कारणबाट मृत्यु भएको पुष्टि भएको छ । बाह्रविसे नगरपालिका–९ राम्चेको सुत्केरी महिलाको कोरोना भाइरसबाट मृत्यु भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष रहेको बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए ।
उनले भनेका छन्,‘धुलिखेल अस्पतालमा मृत्यु भएको बाह्रविसे नगरपालिका-९ राम्चेको सुत्केरी महिलामा कोरोना पोजेटिभ देखिएकोमा संक्रमीत महिलाको मृत्यु पनि कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष आएको छ ।’ यो नतिजाप्रति दुखित भएको भन्दै मन्त्ती दुलाले सम्बन्धित स्थानहरु जिल्ला कोरोना क्राइसिस मेनेजमेन्टको तर्फबाट सिल गरिएको जानकारी दिएका छन् ।
मन्त्री दुलालका अनुसार बागमती प्रदेश सरकारले आइतबार बिहान बाह्रविसेमा बिज्ञ प्राविधिक टोलीले कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पिसिआर परीक्षण गर्ने पनि बताए । भोलि दिनभरीमा कन्ट्याक ट्रेसिङ सकेर ती मानिसहरुलाई आशोलेसनमा राख्ने तयारी रहेको उनले बताए । सिन्धुपाल्चोेक क्षेत्र नम्बर २ प्रदेशसभा ‘ख’ बाट निर्वाचित भएका मन्त्री दुलालले सबैले लकडाउनको पालना गरी सरकारले गरेको परीक्षणमा सहयोग पुर्याउन अनुरोध गरेका छन् । गाउँ–गाउँमै नाकाबन्दी गरेर स्थानीयहरुले सहयोग गरिदिँदा सरकारले ट्रेसिङको काममा सहयोग पुग्ने भन्दै उनले डराउनपर्ने अवस्था नरहेको स्पष्ट गरे ।
मृतक महिला सुत्केरी पनि भएको र ‘इम्युनिटि पावर’ कमजोर भएका कारणले मृत्युसँग जुध्न असहज भएको भन्दै उनले मृतकप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । मन्त्री दुलालले सिल गरिएका क्षेत्रका सबैलाई सुरक्षित भएर बस्न आग्रह गरेका छन् । चिकित्सकीय अनुसन्धानको निष्कर्ष केन्द्रीय सरकारले आधिकारीक रुपमा सार्वजनिक गर्ने उनले बताए ।