धनगढी, १६ जेठ / कैलालीको धनगढी उपमहानगरपालिका–१८ फूलबारी क्षेत्रका महिलाहरू खटिया बुन्ने सीपमार्फत आत्मनिर्भर बन्दै गएका छन्। सीप विकासदेखि उत्पादन र बजार व्यवस्थापनसम्मको जिम्मेवारी बहन गर्दै आएको बेहडाबाबा मेटल उद्योगको पहलले स्थानीय महिलाको जीवनमा आर्थिक तथा सामाजिक परिवर्तन ल्याएको छ।
कैलारी गाउँपालिका–४ नवलपुरकी शैलेश्वरी चौधरी केही वर्षअघिसम्म क्याम्पस अध्ययनका क्रममा आफ्नो खर्च व्यवस्थापनका लागि परिवारमा निर्भर थिइन्। अहिले भने उनी पढाइसँगै फुर्सदको समयमा खटिया बुन्ने काम गरेर आफ्नै खर्च आफैं धान्न सफल भएकी छन्।
“पहिले पढाइ खर्चका लागि घरबाट पैसा माग्नुपर्थ्यो, अहिले खटिया बुनेर आएको आम्दानीले आफ्ना आवश्यकताहरू पूरा गर्न सकेकी छु,” शैलेश्वरीले भनिन्।
फूलबारीकै प्रमिला चौधरीको अनुभव पनि उस्तै छ। पहिले खाली समयमा मोबाइल चलाएर समय बिताउने उनी अहिले त्यही समयलाई आम्दानीसँग जोड्न सफल भएकी छन्। “खटिया बुन्दै जाँदा समय गएको थाहा नै हुँदैन। काम पनि हुन्छ र आम्दानी पनि,” उनले भनिन्।
दुर्गा देवी चौधरीका लागि पनि खटिया बुन्ने सीप आयआर्जनको भरपर्दो माध्यम बनेको छ। खेतीपाती, पशुपालन र घरायसी कामसँगै उनी नियमित रूपमा खटिया बुन्ने काममा संलग्न छिन्। “पहिले खर्चका लागि श्रीमान्सँग पैसा माग्नुपर्थ्यो, अहिले आफ्नै कमाइले आवश्यकता पूरा गर्न सकेकी छु,” उनले बताइन्।
फूलबारी क्षेत्रमा यस्ता धेरै महिलाहरू छन्, जसले खटिया बुन्ने सीपलाई आम्दानीको माध्यम बनाएका छन्। घरायसी काम सकेपछि उनीहरू फुर्सदको समय खटिया बुन्ने कार्यमा लगाउँछन्। उनीहरूका अनुसार घरमै बसेर काम गर्न पाउँदा सहज हुनुका साथै सम्मानजनक आम्दानी पनि भइरहेको छ।
यस परिवर्तनको मुख्य आधार बनेको छ धनगढी–७ मनेहरास्थित बेहडाबाबा मेटल उद्योग, उद्योगले फूलबारी क्षेत्रमा तीन वटा महिला समूह गठन गरी खटिया बुन्ने तालिम सञ्चालन गरेको छ। तालिमपछि आवश्यक सामग्री, खटियाको फ्रेम तथा डोरी उपलब्ध गराउने व्यवस्था समेत मिलाइएको छ।
महिला समूहकी अगुवा अनिता चौधरीका अनुसार पहिले सीप सिक्न र सामग्री प्राप्त गर्न टाढासम्म पुग्नुपर्ने अवस्था थियो। “अहिले उद्योगले गाउँमै सामग्री उपलब्ध गराउँछ। त्यसैले महिलाहरूलाई घरमै बसेर काम गर्न सजिलो भएको छ,” उनले भनिन्।
उद्योगले तालिम र सामग्री उपलब्ध गराउने मात्र होइन, उत्पादनको बजार व्यवस्थापनसमेत गर्दै आएको छ। उद्योगमा तयार गरिएका खटियाका फ्रेम महिला समूहसम्म पुर्याइन्छ भने महिलाहरूले बुनेका खटियाहरू संकलन गरी विभिन्न गाउँ तथा बजारमा बिक्रीका लागि पठाइन्छ।
यस व्यवस्थाले महिलाहरूलाई बजार खोज्ने झन्झटबाट मुक्त गरेको छ। उनीहरू उत्पादनमा केन्द्रित हुन सकेका छन् भने बिक्रीको जिम्मेवारी उद्योगले सम्हाल्दै आएको छ।
उद्योगका मेनेजर पुनम चौधरीका अनुसार खटिया बुन्ने महिलाहरूले दैनिक पाँच सयदेखि एक हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन्। एउटा खटिया तीन हजारदेखि चार हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।
“हामीले महिलाहरूलाई सीप मात्र दिएका छैनौं, उनीहरूले उत्पादन गरेको सामग्रीको बजार पनि सुनिश्चित गरेका छौं। यसले उनीहरूको आयआर्जन बढ्नुका साथै आत्मनिर्भर बन्न सहयोग पुगेको छ,” पुनमले भनिन्।
उद्योगको यो पहलले महिलाहरू मात्र नभई फ्रेम निर्माणमा संलग्न मिस्त्री, वेल्डर, उद्योगका कामदार, अटो चालक तथा बिक्री–वितरण क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई समेत रोजगारी प्रदान गरेको छ।
स्थानीय स्रोत, सीप र श्रमलाई उपयोग गर्दै बेहडाबाबा मेटल उद्योगले गाउँमै आर्थिक गतिविधि विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छ। एक समय खर्चका लागि परिवारमा निर्भर महिलाहरू आज आफ्नै कमाइबाट घरखर्च चलाउन सक्षम भएका छन्। यसले उनीहरूको आत्मविश्वास, निर्णय क्षमता र आर्थिक सशक्तीकरणलाई नयाँ उचाइमा पुर्याएको छ।
