✍️ आकाश खड्का
कहिलेकाहीँ राति एक्लै बस्दा अचानक बुबाको धेरै याद आउँछ ।
यति धेरै कि मनभित्र थामेर राखेको पीडा आँखा भएर बग्न थाल्छ ।
मान्छेहरू भन्छन्- “समयले सबै घाउ निको बनाउँछ ।”
तर सायद उनीहरूले बुबा गुमाउनुको पीडा कहिल्यै महसुस गरेका छैनन् होला ।
किनकि केही अभावहरू समयसँगै कम हुँदैनन्, झन् गहिरिँदै जान्छन् ।
र “बुबा” को अभाव त्यस्तै कहिल्यै पूरा नहुने खालीपन रहेछ ।
सानो हुँदा मलाई लाग्थ्यो— मेरो संसार नै बुबा हुनुहुन्थ्यो ।
उहाँ साथमा हुँदा कुनै कुराको डर लाग्दैनथ्यो ।
जुनसुकै समस्या आए पनि मनभित्र एउटा विश्वास जिउँदो हुन्थ्यो—
“मेरो बुबा हुनुहुन्छ नि…”
तर आज…
त्यही संसारभित्र म आफैँ हराइरहेको छु ।
भीडको बीचमा उभिँदा पनि मनभित्र गहिरो सुनसान छ ।
वरिपरि धेरै मान्छे छन्, तर “छोरा, डराउनु पर्दैन, म छु” भन्ने त्यो आवाज अब छैन ।
र त्यही आवाजको अभावले जिन्दगीलाई अन्धकार बनाइदिएको छ ।
आज पनि सम्झिन्छु—
बुबा बिहान सबेरै उठ्नुहुन्थ्यो ।
हामी निदाइरहेको बेला उहाँ कामतिर निस्किसक्नुभएको हुन्थ्यो ।
आफ्नो थकाइ लुकाएर, आफ्ना दुःख दबाएर, हाम्रो भविष्य बनाउन दिनरात खटिरहनुहुन्थ्यो ।
हामीलाई राम्रो पढाउन, राम्रो जीवन दिन, उहाँले आफ्नो जीवन नै खर्च गर्नुभयो ।
तर हामीले कहिल्यै उहाँको थकाइ बुझ्न सकेनौँ ।
उहाँ पसिनाले भिजेर घर फर्किंदा धेरै थाक्नुभएको हुन्थ्यो होला,
तर अनुहारमा मुस्कान ल्याएर सोध्नुहुन्थ्यो—
“आज विद्यालय कस्तो भयो छोरा ?”
आफू दुखी भएर पनि परिवारलाई खुसी राख्ने कला सायद बुबालाई मात्रै आउँथ्यो ।
आज त्यो सबै सम्झिँदा मन टुक्राटुक्रा हुन्छ ।
किनकि अहिले दुःख लाग्दा उहाँको काँध छैन ।
हार मान्न लाग्दा उहाँको हौसला दिने आवाज छैन ।
जीवनले थिच्दा “म छु नि” भन्ने साथ छैन ।
अनि कहिलेकाहीँ लाग्छ—
मान्छे साँच्चै बुबा गएपछि ठूलो हुँदो रहेछ ।
किनकि त्यसपछि ऊसँग आफ्नो बालापन जोगाइराख्ने ठाउँ नै बाँकी रहँदैन ।
आज म बाहिरबाट हाँसिरहेको देखिन्छु होला, मान्छेहरूसँग बोलिरहेको पनि देखिन्छु होला,
तर भित्रभित्रै हरेक दिन बुबाको अभावसँग लडिरहेको छु ।
कहिलेकाहीँ अरूलाई आफ्ना बुबासँग हाँसिरहेको देख्दा मन एक्कासी चुप लाग्छ ।
आँखाले नदेखेझैँ गर्छु, तर मनले आफ्नो खालीपन झन् गहिरो महसुस गर्छ ।
मन्दिर जाँदा, बजार हिँड्दा, कुनै बुबाले छोराको हात समाएको देख्दा मन चुपचाप भन्छ—
“मेरो बुबा पनि हुनुहुन्थ्यो…”
तर अब ती सबै सम्झनामा मात्रै बाँचेका छन् ।
घर आज पनि उस्तै छ ।
ढोका उस्तै छ ।
कोठा उस्तै छ ।
तर बुबा नहुँदा सबै कुरा अधुरो लाग्छ ।
पहिले घर फर्किँदा छुट्टै आनन्द हुन्थ्यो,
किनकि बुबाको आवाज सुन्न पाइन्थ्यो ।
आज घर फर्किँदा सुनसानले स्वागत गर्छ ।
पहिले दुःख लाग्दा बुबाको छेउमा बस्न मन लाग्थ्यो ।
आज दुःख लाग्दा आफ्नै मनभित्र रोइरहनुपर्छ ।
सायद संसारको सबैभन्दा ठूलो पीडा नै यही हो—
जसले जीवनभर हामीलाई सुरक्षित राख्यो,
एकदिन उसैको अभावमा हामी आफैँ असुरक्षित महसुस गर्न थाल्छौँ ।
बुबा, आज तपाईं धेरै याद आउनुहुन्छ ।
तपाईंको त्यो कराउने बानी, त्यो सम्झाउने शैली, त्यो चुपचाप माया गर्ने तरिका…
सबै कुरा सम्झेर मन धेरै रोइरहन्छ ।
पहिले तपाईं हुँदा जिन्दगी सजिलो लाग्थ्यो ।
आज तपाईं नहुँदा हरेक खुसी अधुरो लाग्छ ।
कहिलेकाहीँ धेरै थाकिन्छ बा…
जीवनसँग होइन, तपाईंको अभावसँग लड्दा लड्दा ।
राति निदाउन खोज्दा तपाईंको यादले निद्रा भगाइदिन्छ ।
मनले हजार पटक सोध्छ—
“एक पटक मात्रै भए पनि फेरि बुबाको आवाज सुन्न पाइए हुन्थ्यो…”
तर समय धेरै कठोर रहेछ ।
उसले मान्छेबाट सबैभन्दा प्यारो साथ खोसेर पनि बाँच्न बाध्य बनाउँदो रहेछ ।
आज बुझ्दैछु,
बुबा भनेको घरको मान्छे मात्रै होइन रहेछ ।
उहाँ त हाम्रो साहस, हाम्रो भरोसा, हाम्रो संसार रहेछ ।
र संसार गुमेपछि मान्छे बाहिरबाट बाँचेको देखिए पनि
भित्रभित्रै हरेक दिन तडपिँदो रहेछ ।
म पनि आज त्यही तडपाइसँग बाँचिरहेको छु,
बुबा नहुँदा एक्लै… धेरै एक्लै… 💔
