• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

चुरेमा पानीका मुहान सुक्दै, स्थानीयको दैनिकी कष्टकर

धनगढी । गाउँ तल ठूलीगाड सुसाइरहेको छ । माथिल्लो थुम्कामा रहेको कडकिरी गाउँ भने पानी प्यासले काकाकुल छ । पहिले ५०/६० घरलाई पुग्ने पानी अहिले एक जनालाई पनि पुगिरहेको छैन । गाउँका सबैलाई बिहान उठ्नेबित्तिकै पानीको चिन्ता हुन्छ । ४० को दशकतिर पानीका मुहान, नाउला तथा पधेँरामा प्रसस्तै पानी रहेको स्मरण गर्दै कैलालीको चुरे गाउँपालिका– २, कडकिरीका ५३ वर्षीय जयबहादुर साउँद भन्छन्, ‘पहिले त ५०/६० घरलाई पुग्ने पानी हुन्थ्यो, यस्तो हाहाकार कहिल्यै भएन । अहिले आफ्नै घरमा १५–२० दिनदेखि पानी छैन । टाढाबाट बोकेर ल्याउनुपर्छ, नुहाउन तथा लुगाकपडा धुन त परै जाओस् खानकै लागि पनि पानी पुग्दैन ।’

यो पीडा कडकिरी गाउँमा मात्रै नभई चुरे गाउँपालिकाका सबै वडामा छ । पानीको अभावले चुरेको जनजीवन कष्टकर बनेको छ । कडकिरी गाउँका मुख्य तीनवटा पानीका मुहानहरु पनेरा नाउलो (कुवा), कोलगडा नाउलो र केदारमुडा नाउलो एकपछि अर्को गर्दै सुक्न थालेपछि स्थानीय बासिन्दा दैनिक आवश्यकताका लागि समेत पानी जुटाउन संघर्ष गरिरहेका छन् ।

                                       मुहानहरु पनेरा नाउलो (कुवा), कोलगडा नाउलो र केदारमुडा नाउलो एकपछि अर्को गर्दै सुक्न थाले

अर्का स्थानीय ४९ वर्षीय लालबहादुर साउँद पानी अभावको कारण बदलिँदो जलवायु परिवर्तन भएको ठान्छन् । ‘पहिले यस्तो गर्मी हुँदैनथ्यो, दिनभरि बारीमै काम गथ्र्र्यौँ,’ उनी भन्छन्,‘अहिले त दिउँसो बाहिर निस्किनै गाह्रो छ । गर्मी बढेपछि नाउला सुक्न थाले ।’ गाउँ वरपरको जंगल बाक्लो रहेको विगत सम्झँदै उनी भन्छन्,‘ घर नजिकै अम्रिसो पाइन्थ्यो, वातावरण चिसो थियो । अहिले त जंगल पातलो भयो, अम्रिसो त खोजे पनि भेटिन्न ।’ अम्रिसोले पानीका मुहान फुटाउने तथा पानी रसाउने काम गर्ने गरेको उनी बताउँछन् ।

पानी नहुँदा कयौँ दिन खाना पकाउनै नपाइएको बताउँदै ४० वर्षीया जैसरा साउँद भन्छिन्, ‘पानी नहुँदा पिउन, लुगाधुन, बालबच्चाको सरसफाइ गर्न समस्या छ ।’ गाउँमा पानी नहुँदा गाउँदेखि एक घण्टा तल कैलाली र डोटीको सिमानामा बगिरहेको ठूलीगाड नदीसम्म पुग्नुपर्ने बाध्यता रहेको उनी बताउँछिन् । ‘बालबालिकाका विद्यालय पोशाक तथा लुगाकपडा धुन र नुहाउन पनि ठूलीगाड पुग्नै पर्छ,’ उनले भनिन्,‘पिउनका लागि पनि त्यहीँबाट जर्किनमा पानी बोकेर ल्याउनुपर्छ ।’ सरकारले ठूलीगाड नदीबाट लिफ्ट प्रविधिबाट गाउँमा पानी पुगाइदिए पानीका दुःखबाट छुटकारा पाउन सकिने उनी सुझाउँछिन् ।

पुस्तौदेखिका पुराना नाउला तथा मुहान वर्षायाममा केही रसाएपनि हिउँद र गर्मीयाममा भने सुक्ने गरेको स्थानीयको भनाइ छ । मुहान संरक्षण नहुँदा र तापक्रम परिवर्तनसँगै पानीका स्रोतहरु नासिन थालेको स्थानीय बताउँछन् । यसअघि २०४९ सालमै तत्कालिन निगाली गाबिसमार्फत गाउँमा खानेपानी आयोजना ल्याइए पनि मुहानको दिगो संरक्षण नहुँदा विछ्याइएको पाइपलाइन र बनाइएको पानी रिजर्वेसन ट्याङ्की प्रयोगविहीन छन् । गाउँ नजिकैको मुहान नै पानीको स्रोत थियो । अहिले मुहान सुकिसकेको छ ।

                                                                                         पानीका मुहान सुकेपछि अलपत्र परेका पानी ट्याङ्कीहरू
पानीका कारण महिलाका दुःख थपिँदै
प्रायः पुरुषहरु रोजगारीका लागि भारतको बंगलोर छन् । महिलाले घरव्यवहार चलाइरहेका छन् । खेतीपाती, पशुचौपाया स्याहार्नु, छोराछोरीलाई स्कुल पठाउनु, सरसफाइ गर्नु र घरव्यवहार चलाउनु यहाँका महिलाको काँधमा जिम्मेबारी थपिएको छ । त्यो भन्दा ठूलो जिम्मेबारी भने पशुचौपायादेखि घरपरिवारलाई सफा र स्वच्छ पिउने पानीको जोहो गर्नु छ । घरायसी कामदेखि बालबालिकाको सरसफाइ, गाईवस्तु पाल्नेसम्मका काम पानीबिनै असम्भवजस्तै बनेपछि उनीहरूको दैनिकी झन् कठिन बन्दै गएको छ ।

स्थानीय जैसरा साउँद भन्छिन्,‘घरमा पानी नभएपछि सबै काम लथालिङ छन् । लुगा धुन, बालबच्चाको सरसफाई गर्न, गाईवस्तुलाई पानी खुवाउन सबैका लागि एक घण्टा हिँडेर नदी जानुपर्छ ।’ पानी अभावले महिला तथा युवतीहरुलाई झन् समस्या पारेको उनी बताउँछिन् । ‘महिनावारीका समयमा सरसफाईमा ध्यान दिनु पर्ने बेला पानी नहुँदा गाह्रो हुन्छ,’ उनले भनिन्,‘बिहानै उठेर नदीमा नुहाउन जानुपर्छ, सँगै कपडा पनि लैजानुपर्छ ।’

महिनावारीको समयमा महिलाहरुलाई पाँच–छ दिन लगातार नुहाउन तथा लुगाकपडा धुन नदी नै धाउनुपर्ने बाध्यता रहेको उनी बताउँछिन् । स्थानीयको भनाइमा पानीको अभाव पुरुषभन्दा बढी महिलाले भोगिरहेका छन् । घरभित्रका अधिकांश काम पानीमै निर्भर हुने भएकाले उनीहरू दिनभरि पानीकै जोहोमा लाग्न बाध्य छन् । ईश्वरी बोहरा पनि पानीकै कारण महिलाले धेरै दुःख खेप्नुपरेको बताउँछिन्। ‘एक घण्टा हिँडेर पानी ल्याउनुपर्छ ।

महिलालाई सरसफाइका लागि अझ बढी पानी चाहिन्छ,’ उनी भन्छिन्, ‘कहिलेकाहीँ घरमा पाहुना आउँदा त झन् समस्या हुन्छ, पानी जुटाउनै गाह्रो हुन्छ ।’ शौचालय सफा गर्नेदेखि घरपालुवा जनावरको हेरचाहसम्म सबै काम पानीमै निर्भर हुने उनी बताउँछिन् । ‘पानीबिना कुनै काम चल्दैन, तर यहीँ पानीको सबैभन्दा ठूलो अभाव छ,’ उनले गुनासो सुनाइन् ।

विद्यालयमै छैन पानी
कडकिरीमा पानी अभावको असर घरधुरीमा मात्रै सीमित छैन, विद्यालयसम्मै पुगेको छ । गाउँकै कक्षा १ देखि ८ सम्म पढाइ हुने ककरसिंह आधारभूत विद्यालयमा पनि खानेपानीको समस्या उस्तै छ । विद्यालयमा धारा त छ, तर त्यसबाट पानी आउँदैन । पानी नहुँदा पठनपाठन नै प्रभावित भइरहेको प्रधानाध्यापक तीर्थराज अवस्थीले बताए ।

‘बालबालिका पढ्न भन्दा पहिले पानीको जोहो गर्नुपर्ने अवस्था छ । कहिलेकाहीँ पानीकै कारण कक्षा नै राम्रोसँग सञ्चालन हुन सक्दैन,’ उनले भने,‘कार्यालय सहयोगीले बोकेर पानी त ल्याउनु हुन्छ, तर सबैलाई पुर्याउन सकिने अवस्था हँुदैन ।’ स्थानीय लालबहादुर साउँदका अनुसार धेरै विद्यार्थी घरबाटै बोकेर पानी ल्याउने गरेका छन् । उनले भने, ‘टिफिन समयमा केही विद्यार्थी पानी खानकै लागि घर फर्किन्छन्, सबैसँग पानी ल्याउने अवस्था पनि हुँदैन ।’

                                                                          ककरसिंह आधारभूत विद्यालयमा पनि खानेपानीको समस्या

विद्यालयमा पानी अभाव हुँदा सबैभन्दा ठूलो समस्या सरसफाइमा देखिने गरेको छ । शौचालय सफा गर्न नसक्दा दुर्गन्ध फैलिने, प्रयोग गर्न नमिल्ने अवस्था आउने गरेको छ । यसले विशेषगरी किशोरी छात्राहरूलाई बढी असर पार्ने गरेको शिक्षक केशव बोहरा बताउँछन् । महिनावारीका समयमा पानी नहुँदा छात्राहरू विद्यालय आउनै छोड्ने, आए पनि असहज महसुस गर्ने अवस्था रहेको छ । सरसफाइका लागि आवश्यक पानी नहुँदा उनीहरूलाई विद्यालयमै बस्न गाह्रो हुने गरेको शिक्षक बोहरा बताउँछन् ।

                                                            पानी नभएको धारा देखाउँदै स्थानीय  जयबहादुर साउँद

त्यस्तै, पानी नहुँदा बालबालिकाको स्वास्थ्यमा पनि रोगको जोखिम बढेको छ । धुलो–माटोमा खेल्ने बालबालिकाले हात सफा गर्न नपाउँदा विभिन्न संक्रमण र रोग फैलिने खतरा बढ्ने चिन्ता शिक्षकहरूको छ । पानीकै अभावमा विद्यालयको भान्सामा पनि समस्या हुने गरेको छ । कतिपय दिन दिवा खाजा बनाउने काम प्रभावित हुने, भाँडा माझ्न गाह्रो हुनेजस्ता समस्या देखिने गरेका छन् । मुहान नै सुक्ने भएका कारण पानी बोकेरे जोहो गरिरहेको प्रधानाध्यापक अवस्थीले बताए । उनले भने,‘ठूलो जर्किन किनेका छौ । बिदाको दिन पानी बोकेर राख्छौ ।’

नभई नहुने पानीको अभावले सरसफाइ, स्वास्थ्य र दैनिक गतिविधिमा समस्या थपिँदै गएका छन् । पानी जस्तो आधारभूत आवश्यकता नहुँदा बालबालिकाको शिक्षा र स्वास्थ्य दुवै जोखिममा परेको स्थानीय बताउँछन् ।

पानीका कारण गाउँमा झगडा
पानी अभावमा कारण गाउँमा झगडा हुने गरेको छ । कुनै मुहानमा थोरै पानी हुने र पाइप मार्फत सबैले आआफ्नो घर लैजान खोज्दा गाउँमा झगडा हुने गरेको स्थानीय जैसरा साउँद बताउँछिन् । उनले भनिन्, ‘कुनै कुनै मुहानमा थोरै पानी हुन्छ । त्यसैमा सबैले पाइप हाल्छन् । त्यसो भएपछि सबैको घरमा पानी आउँदैन । एउटाले आफ्नो घर लैजान खोज्छ भने अर्काले पानी निकाले आफ्नोमा हाल्छन् । जसका कारण झगडा हुन्छ ।’

चुरेका अधिकांश ठाउँमा सुके पानीका मुहान
चुरेका अधिकांश ठाउँमा पानीका मुहान सुकेका कारण खानेपानीको अभाव देखिएको छ । गर्मीयाम सुरु हुनै लाग्दा चुरे क्षेत्रमा रहेका बस्तीमा खानेपानीको चरम अभाव हुन थालेको छ । पानीका मुहान सुक्दै जान थालेपछि चुरेको कड्कीरी मात्रै होइन । वडा ६ का कुमैना, सिराडी, चौमासे लगायतका बस्तीमा पानीको अभाव हुने गरेको छ । एक गाग्री पानी लिन एक घण्टासम्म हिँडेर मुहानसम्म पुग्नुपर्ने, त्यहाँ पालो कुरेर बस्नुपर्ने र फेरि फर्केर उकालो चढ्नुपर्ने बाध्यता छ ।

                                                                 चुरे गाउँपालिका वार्ड नं ६ कुमैना मा पानी नहुँदा धारामा थुपारिएका भाँडाहरू

प्रत्येक घरबाट पानी लिनका लागि एक जना मान्छे दिनभर खटिनुपर्ने बाध्यता रहेको गुनासो गर्दै सिराडीका स्थानीय जयराज धामी भन्छन्, ‘वरपर मुहान छैन एक घण्टा हिँडेर एक गाग्री पानी ल्याउनु पर्छ, बस्तुभाउका लागि र खानेपानी ओसार्दैमा दिन बित्छ ।’ नजिकैको मुहानको पानी खान प्रयोग गर्ने गरिन्थ्यो, तर अहिले मुहानको पानी सुकेपछि त झन् समस्या भएको छ । घर परिवारमा दुई जनाले पानी ओसार्ने काममा लागेपछि बालबालिकाको पढाइमा समेत असर पर्न थालेको छ ।

स्थानीय नवीन ठगुन्नाले पीडा सुनाउँदै भने, ‘बिहानै उठेर पानी लिन जानुपर्छ । ५ बजे पानी लिन गएको मानिस पालो कुर्दा कुर्दै ८ बजे फर्किन्छ, पानीकै लागि समय दिन नसक्दा केटाकेटीलाई समयमा विद्यालय पठाउन सकिँदैन ।’ जसले गर्दा बालबालिकाको पढाइसमेत बिग्रेको उनले बताए । ‘दिनभरि बोकेको पानीले मानिसकै लागि त पु¥याउन सकिँदैन,’ उनले भने,‘यस्तै अभाव भोग्दै जानुपर्ने हो भने बस्तुभाउ पाल्न पनि नसकिने अवस्था छ ।’ उच्च ठाउँमा बस्ती भएका कारण पानीका मुहान पनि कम रहेको र भएका मुहान पनि सुक्ने कारणले समस्या भएको चुरे गाउँपालिका ६ का वडाध्यक्ष प्रेम साउँदले बताए ।

यसैगरी चुरे गाउँपालिका–१, मुडेतिमिलामा पनि खानेपानीको अभाव भएपछि त्यहाँको बस्ती नै काकाकुल बनेको छ । एक गाग्री पानी लिनका लागि एक घण्टा समय खर्चनु परेपछि सिङ्गो बस्ती नै पानीको अभाव खेपिरहेको स्थानीय धु्रव बोहराले बताए । बीस घरधुरी रहेको उक्त बस्तीमा खानेपानीको संकटले बस्ती नै सर्नुपर्ने समस्या देखिएको छ । नजिकका पानीका मुहान सुकिसकेको बताउँदै उनले भने,‘पानीको समस्या समाधान भएन भने बस्ती नै उठ्न सक्छ ।’

कैलालीको चुरे गाउँपालिकाका ६ वटै वडामा खानेपानीको अभाव छ । चुरे गाउँपालिकामा पछिल्लो समय खानेपानीका मुहानहरू सुक्दै गएका कारण खानेपानीको समस्या बढ्दै गएको छ । गाउँपालिकाले विभिन्न परियोजनमार्फत् समस्या समाधानको प्रयास गरिरहेको भए पनि भौगोलिक विकटता र वातावरणीय प्रभावका कारण समस्या भइरहेको चुरेका खानेपानी तथा सरसफाई शाखाका प्राविधिक भीम भट्टले बताए ।

डढेलो, खडेरी र वन विनाशका कारण मुहानमा पानीको मात्रा घट्दै गएको उनले बताए । उनले भने,‘कतिपय स्थानमा मुहानहरू पूर्ण रूपमा सुकिसकेका छन् । सडक विस्तारका क्रममा ठूला मेसिनहरूको प्रयोगले गर्दा जमिन थर्किएर पनि मुहानहरूमा क्षति पुगिरहेको छ ।’ विशेषगरी साना सडक खन्दा वातावरणीय प्रभाव मूल्याङ्कन नगरिने हुँदा खानेपानीका स्रोतहरूमा असर परिरहेको उनले बताए ।

झण्डै ५० वर्ग किलोमिटर क्षेत्रमा छरिएका बस्तीहरू भएकाले सबै ठाउँमा समान रूपमा पानी पु¥याउन भौगोलिक बनावटले समस्या पारेको उनले बताए । साथै मुहान नै सुकेर जाने समस्या भएका कारण अझ चुनौती थपिएको छ ।

पानीको समस्या पालिका भरिनै रहेको चुरे गाउँपालिकाकी उपाध्यक्ष धना थापाले बताइन् । गाउँपालिकाले हाल जलवायु अनुकुलन परियोजना र अन्य साना टुक्रा योजनामार्फत् खानेपानी व्यवस्थापनको काम गरिरहेको उनले बताइन् । उनले भनिन्,‘जलवायु अनुकुलन परियोजनामार्फत् धारा निर्माण गर्ने, मुहान संरक्षणका लागि जलाधार क्षेत्रहरूमा रिचार्ज पोखरी बनाउने र वन जंगल संरक्षण गर्ने कार्य पनि भइरहेको छ ।’ जलवायु अनुकुलन परियोजना अन्तर्गत पालिकाका विभिन्न वडामा १ सय ५२ धारा निर्माण गरेको उनले बताइन् । ‘केही वडामा अहिले पनि काम गरिरहेका छौं । मुहान नभएका गाउँमा पनि ठाउँ अनुकुल व्यवस्था गर्ने छौ ।’

वातावरणीय अध्ययन हुन्छ, कार्यान्वयन हुँदैन
पाछिल्लो समय गाउँका घर घरमा सडक पु¥याउने लहर चलेको छ । चुरे गाउँपालिकामा मात्रै अहिलेसम्म ६५ वटा ग्रामीण तथा कृषि सडक निर्माण गरिएका छन् । १९० दशमलव ४२ बर्ग माइल क्षेत्रफल रहेको चुरेमा ३ सय किलोमिटर सडक निर्माण गरिएको हो । यी सबै सडक निर्माणमा डोजर प्रयोग गरिएका थिए । जसले गर्दा जमिनको भूसहत हल्लिनुका साथै पानीका मुहानमा समेत धक्का लागेको हुन सक्ने गाउँपालिकाका खानेपानी तथा सरसफाई टेक्निसियन भीम भट्ट बताउँछन् ।

नयाँ ट्रयाक खोल्दा वातावरणीय अध्ययन अनिवार्य भए पनि बजेट अभाव र प्राविधिक कमजोरीका कारण यसको कार्यान्वयन पक्ष फितलो देखिएको चुरेमा कार्यरत इन्जिनियर उमेश जोशी बताउँछन् । उनले भने,‘ बजेट कम हुने, तर जनताको माग धेरै हुने भएकाले धेरै ठाउँमा वातावरणीय अध्ययनको पक्षलाई ध्यान दिन सकिएको छैन ।’ कतिपय ठाउँमा वातावरणीय अध्ययन भए पनि कार्यान्वयन गर्न नसकिएको उनी स्वीकार्छन् । चुरे क्षेत्रमा हाल निर्माण गरिएका नयाँ सडकहरूमा यस्तो अध्ययन हुने गरेको दाबी गरि पनि पुराना सडकहरूको स्तरवृद्धि गर्दा भने पुनः वातावरणीय अध्ययन गर्ने नगरिएको उनले बताए ।

सुदूरपश्चिमका धेरै ठाउँमा यही समस्या रहेको र यसले दीर्घकालीन रूपमा पानीको संकट निम्त्याउन सक्ने इन्जिनियर जोशीले बताए । विगतमा नियम कानुन कडा नहुँदा र सामुदायिक वनहरू खासै सजग नहुँदा जथाभावी सडक खन्ने गरिए पनि अहिले भने अवस्था फेरिएको उनले बताए । यसअघि बनेका सडकको गाउँपालिकाले वातावरणीय प्रभाव मूल्याङ्कन गरे पनि विकास निर्माण गर्दा बजेट अभाव तथा दक्ष जनशक्ति नहुँदा कार्यान्वयन हुन नसकेको इञ्जिनियर जोशी स्वीकार्छन् । उनले भने,‘सडक निर्माणका लागि हाल सामुदायिक वनहरूले आफ्नो क्षेत्रमा रुख काट्न अनुमति दिन कडाइ गरेका छन् र वातावरणीय प्रभावप्रति सचेत हुन थालेका छन् ।’

पछिल्ला वर्षहरुमा जलवायु परिवर्तन र बढ्दो वनविनाशका कारण जमिनमुनिको पानी पुनःभरण हुन नपाउँदा मुहान, कुवा, पधेँरा, नाउलाहरु सुक्ने समस्या गाउँबस्तीमा देखिन थालेको वातावरणका क्षेत्रमा काम गर्दै आएका वातावरणविज्ञ चक्रबहादुर बमले बताए । विश्वव्यापी रूपमा बढ्दो कार्बन उत्सर्जन र विकासका कार्यहरूले वायुमण्डलमा पारेको असरका कारण जलवायु परिवर्तनको गति तीव्र बनिरहेका बेला यसको प्रत्यक्ष प्रभाव चुरे क्षेत्रको वर्षा चक्रमा देखिएको उनले बताए ।

‘अचेल वर्षा नियमित हुन छाडेको छ, कहिले लामो समयसम्म खडेरी पर्ने त कहिले एकै पटक भीषण वर्षा हुने प्रवृत्तिका कारण जमिनले पानी सोस्न पाएको छैन,’ उनले भने,‘आकाशबाट परेको पानी सञ्चित हुनुको सट्टा सतहबाटै बगेर जाने हुनाले जमिनमुनिको जलभण्डार रिचार्ज हुन नपाएको र यसले मुहानहरू सुक्ने गरेका छन् ।’ आकाशे पानीलाई सोसेर राख्न सक्ने प्रजातिको एक प्रकारको घाँस अम्रिसो चुरेमा कुनै समय पर्याप्त पाइने गरे पनि पछिल्ला समयमा नासिँदै जाँदा जमिनले पानी सोस्न नपाएका कारण पनि मुहान विस्तारै सुक्दै गइरहेको उनको भनाइ छ ।

वनविनाशले एकातिर जमिनको पानी सोस्ने क्षमता घटाएको छ भने अर्कोतिर तीव्र भूक्षय र पहिरोको जोखिम समेत बढाएको बताउँदै उनले भने,‘पानीको वेगले माटो बगाएर लैजाँदा जमिनको प्राकृतिक रिचार्ज प्रणाली अवरुद्ध भएको छ, जसका कारण चुरे क्षेत्रका पुराना अम्रिसोका झाडी र वनजंगल भएका स्थानमा समेत अहिले पानीको अभाव देखिन थालेको छ ।’

अनियन्त्रित खनजोत, जथाभावी सडक विस्तार, डढेलो, वनविनासका कारण चुरे काकाकुल बन्दै गएको छ भने त्यसको प्रत्यक्ष असर भावर क्षेत्र र तराईका ह्याण्डपम्प (नल्का) मा पानी आउन छाडेको छ । चुरे क्षेत्रमा बसोबास गर्ने नागरिकले पर्याप्त पानी पाउन नसक्दा पुस्तौदेखि बस्दै आएको घरबारी छोडेर कतै बसाइँ नै सर्नुपर्ने अवस्था सिर्जना हुन थालेको छ । यसले यहाँको कृषि क्षेत्रमा पनि ठूलो असर पारेको छ । चुरे संरक्षणका क्षेत्रमा काम गर्ने संघसंस्था तथा वन डिभिजन कार्यालय र गाउँपालिकाले यहाँका मुहान संरक्षणका लागि वनजंगल जोगाउनका लागि विशेष कार्यक्रम लागू गर्नु जरुरी छ ।

सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.