कञ्चनपुर , ३१ वैशाख । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्नका लागी जारी गरेको लकडाउनको प्रत्यक्ष असर किसानमा पर्न गएको छ । डेढ महिनादेखि जारी बन्दाबन्दीले किसानहरू ठुलो समस्यामा परेका छन् । लकडाउनले आयात निर्यात तथा उत्पादनका कार्यहरू ठप्प रहेपछि, कञ्चनपुरमा रासायनिक मलको समेत अभाव देखिएको छ।
सरकारले लकडाउनको पुर्णरुपमा पालना गराउन सबै क्षेत्रलाई बन्द गर्दा रासायनिक मल आर्पुती गर्न कठिनाइ भएपछि कञ्चनपुर जिल्लालाई आवश्यक पर्ने मलको अभाव भएको छ । बर्षौ देखि जिल्ला भरी मल आपूर्ति गरिरहेको कृषि सामग्री कम्पनी शाखा कार्यालय महेन्द्रनगरले पनि मल अभाव हुनको मुख्य कारण लकडाउन भएको जनाएको छ ।
यता मलको अभाव हुँदा यस वर्ष धान उत्पादनमा पनि कमी आउने किसानहरूले बताएका छन् । कृषि सामग्री कम्पनीबाट मल पाउने आशामा बसेका किसानलाई मल अभाव भएपछि खेती लाउन पनि समस्या भएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १५ स्थित निम्मबुखेडाका चेतराज भट्टले आफूहरू बर्षौ देखी खेती गर्दै आएकोले यस वर्ष आवश्यक मल नपाउँदा कृषि उत्पादनमा कमी आउने बताए ।
जिल्ला भरी आवश्यक पर्ने रासायनिक मल मध्ये डिएपि मलको बढी अभाव रहेको छ । जिल्लाभर आठ सय मेट्रिक टन डिएपि र हजार मेट्रिक टन युरिया नितान्त आवश्यक रहेको समेत कार्यालय प्रमुख बल बहादुर शाहुले बताए । जिल्लाभरी आपूर्ति हुने रासायनिक मल लकडाउनले गर्दा आयात गर्न नसकेको र कम्पनीले रासायनिक मल आपूर्ति गर्नका लागि भैरहवा कारखाना पत्राचार गरेको र कहिले आउँछ भन्ने एकिन नभएको उनले बताए ।
पास बनाएर लोड गर्न पठाएको गाडीमा लोड गर्ने मजदुर समेत पाउने अवस्था नरहँदा पनि सो समस्या झेल्नुपरेको छ । जिल्लाभरी कम्पनीले यस वर्ष विक्री गर्ने रासायनिक मल पनि लक्ष अनुसारको विक्री गर्न नसक्ने भएको छ । एक महिना लामो लकडाउनको समयमा किसानको धानको सिजन भएकोले पनि कम्पनीलाई आयात गर्नै समस्या भएको छ ।