बाजुरा,२९ असोज / बाजुराको पूर्वी उत्तरमा पर्ने कर्णालीपारिका स्थानीयवासी फेरी सञ्चालनको पर्खाइमा छन् । दसैँका लागि चाहिने आवश्यक सामग्री बजारदेखि गाउँसम्म ढुवानी गर्न फेरी सञ्चालनको पर्खाइमा बसेका हुन् ।
गाउँमा दसैँको चहलपहल बढ्दै गए पनि कर्णाली नदीमा फेरी नचलेपछि आवश्यक सामग्री ढुवानीमा निकै समस्या भएको स्थानीय दानबहादुर रोकायाले बताए।
झोलुङ्गे पुलबाट मानिस आउजाउ गर्न सहज भए पनि दसैँका खाद्यान्नलगायतका आवश्यक सामग्री ढुवानी गर्न भने फेरी सञ्चालनको पर्खाइमा रहेको रोकायाले बताउनुभयो ।
स्वामीकार्तिक खापर गाउँपालिकाले केही वर्षअघिदेखि कर्णाली नदीमा फेरी सञ्चालन गर्दै आएको हो । त्यो फेरी हिउँदका केही महिना सहज रूपमा चल्ने गरे पनि वर्षा सुरु भएर नदीमा पानीको बहाब बढेपछि भने बन्द रहने गरेको छ । यस वर्ष पनि बर्सात लागेपछि बन्द भएको फेरी अझै सुचारु हुन सकेको छैन । कर्णाली नदीमा पानीको बहाब कम नभइसकेकाले तुरुन्तै फेरी सुचारु गर्न समस्या भएको स्वामीकार्तिक खापर गाउँपालिकाले जनाएको छ ।