धनगढी, २८ वैशाख- जन्मभूमी प्रवेशका लागि भारतको विभिन्न क्षेत्रबाट कैलालीको सीमासम्म पुगेका नेपालीहरुलाई पलिया क्वारेन्टाइनमा राखेको ४५ दिन वितेको छ । सुरुवातको दिनमा एक सय २४ जनालाई मात्रै पलिया क्वारेन्टाइनमा राखिएकोमा अहिले सो सङख्या बढेर दुई सय बढि पुगेको छ । उनीहरुलाई अहिलेसम्म स्थानीय प्रशासनले नेपाल प्रवेश गराउने अनुमति पाएको छैन् । लामो समयसम्म क्वारेन्टाइनमा बस्दा समस्या भएको उनीहरुले बताएका छन ।
छोराछोरी र श्रीमानसंगै पलिया क्वारेन्टाइनमा रहनु भएकी कैलालीकी संगीता विकले सरकारसंग उद्धारका लािग याचना गर्नुभयो । ‘समस्यामा परेकै बेला सरकार चाहिने हो,’ उहाँले भन्नुभयो, ‘तर अहिले हामी नेपाली समस्यामा पर्दा सरकार कतै देखिएको छैन । आफ्नो जन्मभूमीसम्म पुग्नका लागि पनि किन अनुमति नमिलेको होला ?’ कैलालीकै अर्का स्थानीय भुपेन्द्र अधिकारीले पनि प्रदेश र स्थानीय सरकारले उद्धारका लागि कुनै पहल नै नगरेको गुनासो गर्नुभयो । नेपाल प्रवेशपछि क्वारेन्टाइनमा बस्न तयार रहेको बताउँदै उहाँले उद्धार गरिदिन माग गर्नुभयो ।
यता जिल्ला प्रशासन कार्यालय कैलालीले भने नेपाली मजदुरलाई नेपाल प्रवेश गराउने अनुमति संघीय सरकारबाट नपाएको जनाएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले संघीय सरकारबाट निर्देशन आए तत्कालै उद्धार गरिने बताउनुभयो ।