धनगढी, २८ वैशाख-कैलालीमा निर्माणाधिन गेटा मेडिकल कलेजको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको योजनाका रूपमा २०७३ साल वैशाखदेखि निर्माण शुरू भएको गेटा मेडिकल कलेज निर्माणमा ८० प्रतिशत भौतिक प्रगति भएको निर्माण समितिले जानकारी दिएको छ । आगामी आर्थिक वर्षभित्रै अस्पतालबाट सेवा शुरू गर्ने तयारीका साथ निर्माण कार्यलाई तिव्रता दिइएको छ । गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका अनुसार कलेजको सात वटा प्याकेजमा निर्माण थालिएकोमा ६ वटा प्याकेजमा ८० प्रतिशत भौतिक प्रगति भएको छ ।
एउटा प्याकेजमा झण्डै ५० प्रतिशत भन्दा बढी भौतिक प्रगति भएको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले बताउनुभयो । उहाँले पढाइ हुने कलेज भवनको ९५ प्रतिशत निर्माणको काम सकिएको बताउँदै अस्पताल भवनको ७० प्रतिशत र प्रशासनिक भवनको ८५ प्रतिशत निर्माण सकिएको बताउनुभयो । मेडिकल कलेजमा आवास गृहको निर्माणमा भने केही ढिलाइ भइरहेको छ । कार्यकारी निर्देशक साउदले अहिले २३ वटा भवनको निर्माण भइरहेको बताउँदै सडक र तटबन्धको कार्य समेत जारी रहेको बताउनुभयो ।
लकडाउनमा समेत मेडिकल कलेजको निर्माण कार्य जारी राखिएको बताउँदै उहाँले निर्माणाधीन सबै प्याकेजमा निर्माण व्यवसायीहरूले कामदारलाई भित्रै राख्ने व्यवस्था मिलाएको र काम निरन्तर चलिरहेको बताउनुभयो । कार्यकारी निर्देशक साउदले निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट लगायतका सामान ढुवानीका लागि जिल्ला प्रशासनले अनुमति दिइसकेको बताउँदै काठमाडौं लगायतका क्षेत्रबाट ल्याउनुपर्ने निर्माण सामाग्रीको भने अभाव रहेको बताउनुभयो ।
अर्को आर्थिक वर्षभित्रै अस्पताल सञ्चालनका लागि बजेट समेत माग गरिएको कार्यकारी निर्देशक साउदले बताउनुभयो । मेडिकल कलेज सञ्चालनका लागि आधारतभूत पुर्वाधार तयार भइसकेपनि अस्पताल सञ्चालन र पठनपाठनका लागि सम्वन्धित निकायले प्रक्रिया अगाडी बढाउन सकेको छैन । शुरूआातमा २०७७ सालदेखि नै अस्पताल र पठनपाठन शुरू गर्ने लक्ष्य राखिएपनि आवश्यक प्रक्रिया अगाडी नबढ्दा आउँदो वर्षभित्र सञ्चालन गर्ने तयारी भइरहेको छ । तर, अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण, शय्या लगायतको खरिद प्रक्रिया भने अझै शुरू भएको छैन ।