धनगढी, २८ वैशाख- धनगढीकी कोरोना संक्रमित महिला पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएसंगै सुदूरपश्चिम प्रदेश कोरोना बिरामी मुक्त भएको छ । शुक्रवार लगातार दुई पटक सम्म रिपोर्ट नेगेटिभ आएपछि धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला अस्पतालबाट डिस्चार्ज भएसंगै सुदूरपश्चिम प्रदेश कोरोना बिरामी मुक्त भएको हो ।
यसअघि लम्की चुहा नगरपालिकाका २१ बर्षीय युवक, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० बर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि ६१ बर्षीय महिला कोरोनालाई जितेर सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भईसकेका थिए । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म दुई हजार नौँ सय २३ जनाको कोरोना परीक्षण गर्दा पाँच जनामा मात्रै कोरोना देखाएको थियो । सेती प्रादेशिक अस्पतालका कोभिड–१९ रोग उपचार विभाग प्रमुख डाक्टर शेरवहादुर कमरले पाचौँ संक्रमित पनि अस्पतालबाट डिस्चार्ज भएसंगै तत्कालका लागि सुदूरपश्चिम प्रदेश कोरोना बिरामी मुक्त भएको बताउनुभयो । ‘प्रदेशभरी संक्रमित कसैको पनि उपचार भईरहेको छैन । सेती प्रादेशिक अस्पतालमा त अहिले शंकास्पद विरामी पनि छैनन् । त्यसैले अहिलेका लागि सुदूरपश्चिमलाई कोरोना बिरामी मुक्त प्रदेश भन्न सकिन्छ ।’ डाक्टर कमरले भन्नुभयो ।
अहिलेलाई सुदूरपश्चिम कोरोना मुक्त भएपनि सम्भावित संकट कायमै रहेको उहाँले बताउनुभयो । ‘भारतबाट लकडाउन अघि र लकडाउनको सुरुवातमा आएका नेपालीहरुबाट कोरोनाको जोखिम लगभग टरेको छ,’ डाक्टर कमरले भन्नुभयोे, ‘तर भारतबाट अब आउने नेपालीबाट भने कोरोनाको संकट कायमै छ । विशेष सजक हुनुपर्ने समय नै अब हो ।’ सुदूरपश्चिम प्रदेशमा कोरोना त्रासपछि रोजगारी गुमाएर झण्डै दुई लाख भित्रिसकेका छन् भने अझै लाखौँ नेपाली भित्रिने तयारीमा छन । उनीहरु नेपाल प्रवेशको अनुमतिका लागि पर्खिरहेका छन ।
यस्तै सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणको साघुरो दायराले पनि सम्भावित संकट कायमै रहेको छ । पछिल्लो केही सातायता प्रदेशमा दैनिक २० जनाको मात्रै परीक्षण हुँदै आएको थियो भने पछिल्लो चार दिनमा सात जनाको मात्रै परीक्षण भएको छ । प्रदेश सरकार भने परीक्षण बढाउन पर्ने आवश्यकता नरहेको बताउँदै आएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्र्रमुख नरेन्द्र कार्कीले भन्नुभयोे, ‘समुदाय स्तरमै गएर परीक्षण गरिहाल्नु पर्ने अवस्था सुदूरपश्चिममा छैन् । शंकास्पद बिरामीको परीक्षण भएकै छ ।’