इश्वर जैशी
सुखड २२ बैशाख — कैलालीको घोडाघोडी नगरपालिकाको निर्माणाधिन वडा कार्यालय भवनमा कमसल खालको ईट्टा प्रयोग भएको पाइएको छ । बन्दाबन्दीका कारण स्थगित भएको नगरपालिकाको वडा नम्बर १, सुखड स्थित वडा कार्यालय भवन निर्माण योजनाको निर्माण कार्य पुनः सुरु भएको हो ।
नेपाल सरकारको परिपत्र अनुसार बैशाख १० गतेदेखि सामाजिक दूरी कायम गरि व्यवसायीसंग भएको सम्झौता अनुसार निर्माण कार्य सुरु भएको थियो । चालु आर्थिक वर्ष्भित्र वडा कार्यालयको भवन निर्माण कार्य सम्पन्न गर्ने गरि नगरपालिकाले कुल १ करोड ४१ लाख २७ हजार रुपैयाँ लागतमा विनेश कन्स्ट्रक्सन कैलालीसंग निर्माण कार्यको सम्झौता गरेको थियो । वडा कार्यालय भवनको जिम्मा पाएको विनेश कन्स्ट्रक्सनले भवन निर्माणमा कमसल खालको ईट्टा प्रयोग गरेको सूचना नगरपालिकालाई जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको पाइएको छ ।
आफूले यसबारे भर्खरै मात्र जानकारी पाएकाले अनुगमन गर्ने र सम्झौता अनुसार काम नभएको पाइए तकाल भत्काउन लगाउने घोडाघोडी नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष मनराज शाहीले बताए । त्यसो त घोडाघोडी नगरपालिका अन्तर्गत अन्य अधिकांश वडा कार्यालयको निर्माणमा समेत निर्माण व्यवसायीहरुले कमसल खालको ईट्टानै प्रयोग गरेको स्थानीयको गुनासो छ । तर, लकडाउनको मौका छोपी निर्माण व्यवसायीहरुले लकडाउनको भरपुर फाइदा उठाइ रहेका छन् । वडा कार्यालय भवनको जिम्मेवारी पाएको विनेश कन्स्ट्रक्सनले भवन निर्माणमा कमसल खालको इट्टाको प्रयोग भएको स्वीकार गरेको छ ।
आफूले चाहँदाचाहदै पनि ईट्टा भट्टाहरुले कमसल ईट्टा पठाउने गरेकाले आफूहरु समस्यामा परेको विनेश कन्स्ट्रक्सनका संञ्चालक तथा निर्माण व्यवसायी ज्ञानु बमले बताएका छन् । घोडाघोडी नगरपालिका भित्र हुने विकास निर्माण योजनाहरुमा कमिसनको खेलहुने गरेको बेलाबेलामा सुनिने गरेको छ । तर, वडा भवन निर्माणको जिम्मेवारी पाएको विनेश कन्स्ट्रक्सनले कमसल खालको ईट्टा प्रयोग गरेको खबर एक हप्ताअघि नै घोडाघोडी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहलाई जानकारी गराउँदा समेत निर्माण व्यवसायीले अहिलेसम्म पनि कमसल खालको ईट्टा प्रयोग गर्दै निर्माण कार्य अगाडी बढाइ रहेका छन् ।
आफूलाई निर्माण व्यावसायीले कमसल खालको ईट्टा प्रयोग गरिरहेको गुनासो आए लगत्तै नगरको प्राविधिक टोली उक्त ठाउँमा सुपरीवेक्षणका लागि समेत पठाएको र निर्माणकार्य पनि रोकिएको अधिकृत सिंहले बताए । त्यस्तै, यता एनएम, के.डी र एन जे.भी कन्स्ट्रक्सनले संयुक्त रुपमा क्रमागत तीनवर्षे निर्माणको जिम्मेवारी पाएको घोडाघोडी नगरपालिकाको ७ करोड ५० लाख रुपैयाँको भवनमा समेत रातारात काम गर्ने गरेको छ । अहिले भवनको फाउण्डेशन चार इन्चको ईट्टाको सोयल हालने काम गरिरहेको निर्माण पक्षले पनि कमसल फुटेका टुक्राटुक्रा ईट्टाको प्रयोग गरेको पाइएको छ ।
शहर बजारमा ढुंगाको अभाव हुने गरेकाले ईट्टाको नै फाउनण्डेशन हाल्ने गरिएको पाइन्छ । ईट्टा भट्टामा टुटेफुटेका ईट्टा सस्तोमा पाइने भएकाले निर्माण व्यवसायीले मौकाको फाइदा उठाएको हुन सक्ने सोही ठाउँमा ज्यालादारीमा काम गरिरहेका एक मजदुरले बताएका छन् ।
