धनगढी १० फागुन/थारु चलचित्र बौछारको लोकप्रिय होली गीत “आइल होरि” अब नयाँ रिमेक संस्करणमा दर्शकमाझ आउने भएको छ । रंगीन होली पर्वको माहोललाई थप उत्साहित बनाउने लक्ष्यसहित गीतलाई आधुनिक प्रस्तुति दिइएको निर्माण टिमले जनाएको छ ।
गीतको मौलिक संस्करणका शब्द सर्जक लक्ष्मण किशोर चौधरी हुन् भने स्वरमा आनन्द कार्की र शिला बिस्टको मधुर आवाज रहेको थियो । नयाँ रिमेक संस्करणमा भने गायिका अन्जु कुश्मी र गायक विजय चौधरीले स्वर दिएका छन् । गीतको भिडियोमा थारु मोडल संगत चौधरी र रितु चौधरीको आकर्षक अभिनय देख्न सकिने बताइएको छ । रिमेक गीतको छायांकन तथा सम्पादन वरिष्ठ सिनेमाटोग्राफर सतिश सिन्हाले गरेका हुन् भने निर्देशन मासुम बिस्टले गरेका छन् ।
थारु संस्कृतिको झल्को दिने यस विशेष प्रस्तुति छिट्टै सिएस फिल्मको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । “आइल होरि”को रिमेक संस्करणलाई लिएर दर्शक तथा संगीत प्रेमीहरूमा उत्साह थपिएको बताईएको छ ।
