कैलाली, १९ माघ / कैलालीको अत्तरिया सुदूरपश्चिमको सानो सहर हो। त्यही सानो सहरमा छन्, धना चोखालका दुई होटल। यो क्षेत्रमा उनी नामी व्यवसायी हुन्। गोदावरी होटेल व्यवसाय संघकी अध्यक्ष भएर आफ्नो कार्यक्षेत्रको हकहितमा पनि उनले काम गरेकी थिइन्।
यो भूमिकासम्म आई पुग्नुमा चोखालले १९ वर्ष अघि एक्लै गरेको निर्णय र त्यसपछि निरन्तर गरेको सङ्घर्षको ठुलो भूमिका छ। घरको काम गर्न र आफ्नाबारे निर्णय गर्न उनले सानैदेखि सिकेकी हुन्। बिरामी भएर आमाको मृत्यु भएपछि आफूले दुःख झेल्नु परेको र त्यही दुःखले आफूलाई बलियो पनि बनाएको चोखाल बताउँछिन्।
एसएलसीसम्म मात्र पढ्न पाएकी चोखाल सानैदेखि भान्साको काममा रत्तिएकी थिइन्। खाना पकाउने बानी पछि शोखमा बदलियो। खास गरी आफूले पकाएको खाना खानेहरूले गरेको तारिफले उनलाई पकाउन जाँगर थपिदिन्थ्यो।
उनी ठुली हुँदै जाँदा अनुभव गरिन्, महिलाहरूले घरको काममा दिनरात घोटिँदा पनि दुःख मात्र पाउँछन्। आर्थिक रूपमा पुरुषहरूको भर पर्नुपरेकाले पनि महिलाले दुःख पाएको बुझ्दै गइन्। त्यसैले उनलाई आर्थिक रूपमा सक्षम बन्नुपर्छ भन्ने लागिरहन्थ्यो।
एसएलसी दिएपछि उनको बिहे भयो। बिहे पछि त झन् उनलाई लाग्यो– मैले आफैले पैसा कमाउने बाटो खोज्नुपर्छ। जागिर खाने भन्दा पनि केही व्यवसाय गर्न पाए सबै आफ्नो हातमा हुन्थ्यो भन्ने उनको सोचाइ आउन थालेको थियो। तर के गर्ने थाहा थिएन। खाना पकाउन त जानेको छु भन्ने आत्मविश्वास थियो। जसले उनलाई होटल व्यवसायमा लाग्न प्रेरित गर्यो।
एक दिन उनले आफूले सानोतिनो लोकल रेस्टुरेन्ट (होटल) खोल्न चाहेको कुरा आफ्ना श्रीमान् र उनको परिवारसँग राखिन्। सास ससुरा सहमत नै भएनन्। तर धना यसै बस्न सक्दिन्थिन्, उनले होटल खोल्ने निर्णय गरिसकेकी थिइन्।।
परिवारले अनुमतिसमेत नदिएपछि होटल खोल्न चाहिने आर्थिक सहयोग माग्न उनीले सक्दिन्थिन्। ‘होटल खोल्छु भनेर ऋण माग्न हिँड्नुभन्दा आफ्नै गहना गुरिया बेच्ने निर्णय गरेँ। मसँग भएका गहनाको १७ हजार पर्यो,’ उनले भनिन्। २०६३ साल पुस महिनामा अत्तरियाकै महेन्द्रनगर रोडमा टिनले छाएको सानो छाप्रो भाडामा लिइन्। त्यसैमा होटल खोलिन्।
खाना बनाउने सरसामान किन्नका लागि १७ हजार थियो। भाँडाकुँडा उनले घरबाटै ल्याइन्। माइतीले दाइजोमा दिएका भाँडाकुँडा होटलका लागि ल्याएको उनी बताउँछिन्। उनले चिया, चना, चाउमिन, समोसा, रोटी र भात–तरकारी बनाएर बेच्न थालिन्।
‘यसरी आफ्नै जिद्दीले होटेल सुरु गरेँ,’ उनले भनिन्, ‘एसएलसीसम्म पढेकी थिएँ। सरकारी/गैह्र सरकारी संघ–संस्थामा जागिर खान खोजेको भए पनि सक्थेँ होला तर,मलाई त आफै मालिक बन्ने हुटहुटी चलेको थियो।’
होटल खोलेकै दिन ग्राहक आएनन्। बिस्तारै आउन थाले। उनको पसलमा आउने ग्राहक गाउँले र चिने जानेकै हुन्थे। त्यसैले चिया नास्ता र खानाको मूल्य ग्राहकले कति पैसा तिर्न सक्छन् होला भन्ने अनुमान गरेर तोकेको बताउँछिन्। त्यस बेला खानाको ७०, चाउमिनको २०,चियाको १०, समोसाको १० ,मासु खानाको १४० तोकिन्। उनका अनुसार, पहिलो महिनाको कमाइ ३०/३५ हजार भयो। त्यो कमाइ उनले केही बचत गरिन भने केही आवश्यक भाडा कुडामा खर्च गरिन्।
परिवारको विरुद्ध गएर आफै होटल चलाएको भनेपछि समाजले समेत उनलाई खासै सहयोग गरेन। महिलाले होटल खोलेको कुरा त्यति बेलाको समाजले उति साह्रो राम्रो मान्दैनथ्यो। छरछिमेकले गरेको नराम्रो व्यवहार अहिले पनि उनी सम्झिन्छिन्। ‘होटेल खोलेको भनेर त्यस बेला समाजले नराम्रो दृष्टिकोण बनाएका थिए, अहिले भने सबैले सम्मान गर्छन्,’ उनले भनिन्।
त्यो बेला उनले होटलमा चाहिने सामान किन्ने, खाना बनाउने, बेच्ने, हरहिसाब राख्ने र भाँडा माझ्ने सबै काम एक्लै गर्थिन्। होटल खोलेको केही समयपछि उनी गर्भवती भइन्। गर्भवती अवस्थामा पनि उनले हिम्मत हारिनन्। होटलमा कामदार राख्ने गरी कमाइ भइसकेको थिएन। उनले बच्चा जन्माएपछि भने अर्कैको पसलमा काम गर्ने श्रीमानलाई उनले आफ्नै होटल मिलेर चलाउन मनाइन्।
‘छोरा जन्मिएपछि श्रीमान् र म दुई जना त भयौँ। तर काम पनि बढ्दै गएको थियो। छोरालाई पिठ्युँमा बोकेरै होटेलको काम गरेँ,’ उनले भनिन्, ‘एकातिर नवजात शिशुको स्याहार, अर्कोतिर होटल व्यवसाय—यी दुवै सँगै सम्हाल्नु सजिलो थिएन।’जस्तो सुकै हालतमा पनि होटल चलाउने उनको लगन र छोराले बुहारीकै लाइन लिएपछि सासू–ससुराले पनि उनलाई सहयोग गरे।
चिया नास्ता बेच्ने होटल खोलेको २ वर्षपछि उनलाई आफ्नो व्यवसाय बढाउनुपर्छ भन्ने सोच आयो। दुई वर्षको अनुभवले उनमा आत्मविश्वास झन् बढेको थियो। आफ्नो ठाउँमा सफा सुग्घर लज चल्न सक्ने सम्भावना देखिसकेकी थिइन्। उनले १३ कोठासहितको लज सञ्चालन गरिन्। उनको लज बिस्तारै त्यो क्षेत्रकै नमुना बन्न पुग्यो। अन्यत्र भन्दा सफा कोठा र राम्रो सेवा दिइन्। ग्राहकको सङ्ख्या बढ्दै गयो। उनको होटेलको सजि सजावट यस्तो थियो, यहाँ टेली चलचित्रदेखि म्युजिक भिडियोसम्म छायाङ्कन भए। सरकारी तथा गैरसरकारी संस्थाले उनको होटेलमा कार्यक्रम गर्न आए।
यसरी नै उनी दिनप्रतिदिन सफल हुँदै गइन्। जसले उनलाई थप लगानी गर्ने हौसला दियो। लज खोलेको ६ वर्षपछि उनले डेढकठ्ठा जमिन किनिन्। र जमिन किनेको केही वर्षपछि आधुनिक फर्निचरसहितको चार तले पक्की भवन बनाइन्। ‘मिहिनेत गरे सफल भइँदो रहेछ,’ पुराना दिन सम्झँदै चोखालले भनिन्,‘अर्काको कच्ची घर भाडामा लिएर सुरुवात गरिएको होटेल अहिले आफ्नै पक्की घरमा सरेको छ।’
उनले रेस्टुरेन्ट तथा लजसँगै अत्तरिया क्षेत्रमै सत्कार दोहोरी साँझ पनि चलाइन्। (दोहोरी साँझ भनेको लोक दोहोरी गीत आउने,नाच्ने रमाइलो गर्ने ठाउँ हो । यहाँ विभिन्न खानेकुरा र गीत संगितसंगै मनोरञ्जन लिन मान्छे आउँछन् ।) अत्तरिया क्षेत्रमै दोहोरी साँझ चलाउने उनी पहिलो व्यवसायी हुन् उनी।
होटल खोलेपछि उनले उति साह्रो पछि फर्केर हेर्नुपरेको थिएन। ६ वर्षअघि आएको कोरोना महामारीले भने होटेल र दोहोरी साँझको व्यवसायमा ठुलो धक्का दियो। महिनौँसम्म होटल बन्द भए। लाखौँ रुपैयाँको लगानी जोखिममा प¥यो। धेरैले व्यवसाय छोडे। तर, उनले विकल्प खोजिन्। त्यही समयमा उनी एउटा बिमा कम्पनीको एजेन्सीमा वरिष्ठ म्यानेजरमा रहेर काम गरिन्।
त्योसँगै उनले कृषि व्यवसायतर्फ पनि कदम बढाइन्। यो आइडिया उनलाई सामाजिक सञ्जालमा कृषि क्षेत्रको व्यापक प्रचार देखिसके पछि आएको हो। खेती गर्ने आइडिया आएपछि उनले घोडाघोडी नगरपालिका र गौरीगङ्गा नगरपालिकामा करिब ४५ बिघा जमिन भाडामा लिइन्। त्यहाँ हल्दी, धान, मकै, तिल, मास,बदामलगायतका खेती सुरु गरिन्। लगानी जमिनको भाडा,बिउ विजन,कामदार र कृषि उपकरणमा १७ लाख थियो।
‘कृषिबाट आएको आम्दानीले सङ्कटको समय पार गर्न मद्दत ग¥यो,’ उनले भनिन्, ‘अहिले ठिक छ।’ बिस्तारै होटल व्यवसायको व्यापार राम्रो हुँदै गयो। अहिले उनले दुई वटा होटल (होटल सत्कार र न्यु सत्कार होटेल एण्ड लज)सञ्चालन गर्दै आएकी छिन्। उनको व्यावसायिक यात्रामा अहिले करिब १५–१६ जना प्रत्यक्ष रोजगारीमा जोडिएका छन्। अहिलेसम्म उनको होटेल व्यवसायमा मात्र सात–आठ करोड रुपैयाँ बराबरको लगानी पुगेको उनले बताइन्।

होटल सत्कार, जुन अहिले धनाको आफ्नै नाममा सञ्चालनमा रहेको छ।
कृषि भने उनले छोडिदिइन्। निरन्तर सङ्घर्ष, योगदान र नेतृत्वका कारण उनी सन् २०२२ मा महिला उद्यमी पुरस्कारबाट सम्मानित भइन्। उद्योग वाणिज्य संघ अत्तरियाका पूर्व अध्यक्ष अशोक देवकोटाले धना चोखाललाई गर्मी र चिसोको परवाह नगरी काम गरेको देखेका छन्। ‘युवाहरू विदेश जाने होडबाजी गरिरहेको समयमा धनाले यही ठाउँमा निरन्तर काम गरिन्। र सफल पनि भइन्। हाम्रो ठाउँमा त उनी उदाहरण नै हुन्। निकै सङ्घर्ष गरेकी छन्,’ देवकोटाले भने।
व्यवसायसँगै चोखाल सङ्गठन निर्माणमा पनि सक्रिय रहिन्। सुरुमा होटल व्यवसाय संघ कैलालीको साधारण सदस्यका रूपमा जोडिएकी उनी क्रमशः नेतृत्व तहमा पुगिन्। पछि गोदावरी होटेल व्यवसाय संघ स्थापना गर्न अग्रसर भइन् र अध्यक्षको जिम्मेवारी सम्हालिन्। व्यवहारिक अनुभव, इमानदारिता र आत्मविश्वासका कारण उनी प्रदेश स्तरहुँदै हाल होटेल व्यवसाय महासङ्घको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा छिन्।
साथै विभिन्न संस्थाहरूले पनि महिलालाई आयआर्जनसँग जोड्नको लागी कार्यक्रम सञ्चालन गरेका छन् । सुदूरपश्चिममा महिलाहरूको आयआर्जन क्षमता वृद्धि गर्दै आर्थिक आत्मनिर्भरता बढाउने उद्देश्यसहित सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम सुदूरपश्चिम प्रदेशका १० स्थानीय तहमा कार्यान्वयन भइरहेको छ। नेपाल सरकार र युरोपेली संघको सहकार्यमा सञ्चालन भएको यस कार्यक्रमले महिलाको सीप, उद्यमशीलता र आर्थिक निर्णय प्रक्रियामा सहभागिता बढाएको सुदूरपश्चिम संयोजक प्रतिभा चौधरीले बताइन्।
कार्यक्रममार्फत ४९८ महिलाले व्यावसायिक सीप विकास तालिम र ४३७ जनाले व्यवसाय विकास तथा विस्तारसम्बन्धी तालिम प्राप्त गरेका छन्। यसै गरी ९ वटा महिला कृषक समूह दर्ता भई २८५ महिला आबद्ध भएका छन्। हाल ४४८ महिला नास्ता पसल, सिलाइ, खुद्रा व्यापार तथा तरकारी खेतीजस्ता आयआर्जन गतिविधिमा संलग्न रहेका छन् ।
यस कार्यक्रमले महिलाको बचत–ऋण तथा वित्तीय सेवामा पहुँच विस्तार, उत्पादनशील स्रोतमा सुदृढीकरण, घरपरिवार र समुदाय स्तरको आर्थिक निर्णयमा सहभागिता, जोखिम न्यूनीकरण तथा जीवनस्तर सुधारमा टेवा पुगेको उनले बताइन् । साथै, कार्यक्रमले लैङ्गिक समानता प्रवर्द्धन, गरिबी न्यूनीकरण र समावेशी तथा दिगो आर्थिक विकासमा योगदान पु¥याएकोे देखाएको छ ।
