धनगढी, १७ पुस / धनगढीमा नेपाल र भारतबीचको खेलकुद सहकार्य, आपसी मैत्री तथा अनुशासन र आत्मरक्षाको प्रवर्द्धन गर्ने उद्देश्यसहित ताङ–इल मो–दो मार्सल आर्ट इन्डो–नेपाल प्रतियोगिता सञ्चालन हुने भएको छ। पुस १९ र २० गते आयोजना हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।
ताङ-इल मो-दो मार्सल आर्ट इन्डो-नेपालको आयोजनामा हुन लागेको यस विशेष कार्यक्रममार्फत खेलाडीहरूबीच मार्सल आर्ट प्रदर्शनका साथै आपसी अनुभव आदान-प्रदान गरिने बताइएको छ । कार्यक्रममा नेपाल र भारतका खेलाडी तथा प्रशिक्षकहरूको सहभागिता रहने जनाइएको छ।
आयोजकका अनुसार कार्यक्रमले विशेषगरी खेलाडीको आत्मविश्वास, अनुशासन, शारीरिक क्षमता तथा मानसिक सशक्तीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ। मार्सल आर्टमार्फत आत्मरक्षा सीप विकास गर्दै स्वस्थ, अनुशासित र सक्षम युवा पुस्ता निर्माण गर्ने लक्ष्यले प्रतियोगिता गरिन लागेको हो।
नेपालका सातवटै प्रदेशबाट र भारतबाट ४ टिमको सहभागिता रहने आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख आयोजक नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघ रहेको छ भने ताङ-इल मो–दो संघ नेपाल सहआयोजकका रूपमा रहेको छ। यसैगरी कार्यक्रमका सह-प्रायोजकमा देव चौधरी (युनाइटेड किङडम) रहेका छन्।