धनगढीः सुदूरपश्चिम प्रदेशबाट कोरोनाको पीसीआर प्रविधि अर्थात प्रयोगशाला मार्फत परीक्षणका लागि अहिले सम्म दुई हजार बढिको नमूना संकलन भएको छ।
प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार फागुन १ गतेदेखि नमूना संकलन सुरु भएकोमा दुई महिनाको अवधीमा दुई हजार एक सय ७९ जनाको नमूना संकलन भएको हो।
प्रदेशका विभिन्न अस्पताल, नेपाली सेनाको टोली र संघीय सरकारले पठाएको टोलीले नमूना संकलन गरेका हुन्। प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रका अनुसार अहिलेसम्म ६ सय २९ जनाको मात्रै परीक्षण रिपोर्ट आएको छ भने एक हजार पाँच सय ५० को रिपोर्ट आउन बाँकी छ।
हिजोसम्म ५३ जनाको मात्रै नमूना परीक्षण गरिएकोमा आज मात्रै थप दुई सय ७० जनाको नमूना परीक्षण गरिएको प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले जनाएको छ। ऋाज परीक्षण गरिएका सबै दुई सय ७० जनाको रिपोर्ट नेगेटिभ आएको छ।
संघीय सरकारले धनगढीमै दुई वटा परीक्षण प्रयोगशाला स्थापना गरेपछि अहिले प्रयोगशाला मार्फत हुने परीक्षणले तिव्रता पाएको हो। यस्तै सुदूरपश्चिममा थप दुई हजार दुई सय ३१ जनाको र्यापिड टेष्ट पनि गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।
अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा चार जनामा कोरोनाको संक्रमण देखिएको छ। चारै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।